जनता टाइम्स

८ चैत्र २०७९, बुधबार १३:१९

सत्तारुढ कांग्रेसकै नेताले खोले प्रचण्ड सरकारको लोकतन्त्रबिरोधी हर्कतको पोल


काठमाडौं, चैत ८ । सत्तारुढ नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले सरकारले व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य बटमलाइन सुनाउनु भएको छ ।

आफ्नै दल सहभागी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टेलिफोन÷मोबाइल, सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने गरी विधेयक ल्याउन मस्यौदा नै बनाइसकेको अवस्थामा कोइरालाले यस्तो बटमलाइन सुनाउनु भएको हो ।

विधेयकबारे समाचारहरू आएपछि बुधबार नेता कोइरालाले सामाजिक सन्जालमार्फत लोकतन्त्रमा यो वा त्यो बाहनामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताउनु भएको हो । विगतमा विरोधका कारण रोकिएको विधेयक अहिलेको सरकारले फेरि अगाडि बढाउन लागेको भन्दै यसले सरकारको नियतमाथि नै गम्भीर प्रश्न उठेको बताउनु भएको छ ।

‘लोकतन्त्रमा यो वा त्यो बहानामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ,’ कोइरालाले भन्नुभएको छ, ‘राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगत्‌को समेत ध्यान जाओस् ।’

तात्कालिन सरकारले ०७६ को साउनमा पनि नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयकको मस्यौदा तयार गरिएको थियो । तत्कालीन प्रतिपक्षी कांग्रेसलगायतका राजनीतिक दल र नागरिक समाजबाट चर्को विरोध भएपछि विधेयक रोकिएको थियो ।

अहिले कांग्रेससहितको गठबन्धन सरकारले अझै स्पष्ट व्यवस्था गर्दै विधेयक ल्याउने तयारी रहेको छ । तर सत्ता गठबन्धनकै नेताहरू र सांसदहरुले यसको विरोध थालेका छन् । बिगतमा आफैले बिरोध गरेको नेकपा माओवादीले ती सवै कुरा भुलेर बिद्येयक ल्याएको हो ।