जनता टाइम्स

८ चैत्र २०७९, बुधबार १४:४९

तिब्बतीलाई नेपाली नागरिकता बनाइदिने गिरोहको पोल खुल्यो, कानुन व्यवसायीसहित ५ जना पक्राउ


काठमाडौं, चैत ८ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चैत ५ गते बबरमहलबाट ५ लाख रुपैयासम्म लिएर तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउने गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार यो समूहले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको छ ।

पक्राउ परेका कटवाल १० वर्षदेखि नै लेखापढी कानुन व्यवसाय गर्दै आइरहेका व्यक्ति हुन् । लाइसेन्स र दर्ताविना नै लेखापढी गर्दै आएका कटुवालले हिरालाल शिवाकोटीसमेतको सहयोगमा विभिन्न व्यक्तिको नक्कली नागरिकता, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता सरकारी कागजात कीर्ते गरेको पाइएको प्रहरीको भनाइ छ ।

कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीको नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बाबुको रुपमा उपस्थित गराएर सनाखत गराउने गरेको प्रवक्ता राठौरले बताउनु भयो ।

पक्राउ परेका न्यूल्केश श्रेष्ठलाई कटवालले मिङछुङ शेर्पा नामको नक्कली नागरिकता बनाइदिएका थिए । त्यसपछि प्रति पटक १० हजार रुपैयाँ दिएर विभिन्न व्यक्तिको नक्कली बाबुको रुपमा प्रशासन कार्यालयमा उपस्थित गराउने गरेका प्रहरीको भनाइ छ । श्रेष्ठले तिब्बती शरणार्थी सोनाम छोडेन, टासी शेर्पा, नाम्से शेर्पा लगायतको नागरिकता बनाउन नक्क्ली बाबु बनेर सहयोग गरेको खुलेको छ ।

कटवालले कीर्ते कागजात तयार गरेर तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएवापत प्रतिव्यक्ति ३ देखि ५ लाख लिने गरेको पाइएको प्रहरीले जनाएको छ ।