जनता टाइम्स

८ चैत्र २०७९, बुधबार १५:०६

मिसन ग्रासरुट अभियानले पत्ता लगायो दैलेखमा एमालेले चुनाव हार्नुको कारण


दैलेख चैत ८ । नेकपा एमालेले देशभर थालेको मिसनग्रास रुट अभियान दैलेखका २ सय टोलमा पुगेको छ । नेकपा एमालेले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माका अनुसार टोल–टोलमा नेता–कार्यकर्ता पुगेर पार्टीभित्रका समस्या समाधानसँगै जनताका प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा समेत छलफल भएको छ ।

‘दैलेखका ११ पालिकामा अभियान थाल्यौँ, त्यसपछि ९० वडामा अभियान सकेर अहिले टोल बस्तीमा पुगेको छ,’ शर्माले भन्नुभयो । गाउँपुगेका नेताहरूलाई चुनावका बेलामा मात्र नभई सँधैभरी यसै गरी गाउँमा जनताका समस्या बुझ्न आउनुपर्ने सुझाव जनताले दिएको शर्माको भनाई छ । जनताले नेकपा एमालेबाट धेरै आशा गरेका छन । ठुलो घेराबन्दीका बावजुत पनि एमालेलाई भोट दिएको र एमालेले अझै देश र जनताको पक्षमा काम गर्न सुझाव दिएको शर्माको भनाई छ ।

दैलेखमा २ सय ७० वडामध्ये करिब २ सय वडामा मिसन ग्रासरुट अभियान अन्तर्गत नेताहरू जनताको घरदैलोमा पुगेका छन । टोल र बस्तीका जनतालाई नेकपा एमालेले लिएको समृद्धिको विषय, राष्ट्रियताको पक्षमा वकालत र पैरवी गरेको विषयसँगै वर्तमान राज्य सत्ता सञ्चालकहरू नेपाल र नेपालीहरू प्रति बफादार नभएर विदेशीको इशारामा लागेको विषयहरू जनतालाई बुझाउने काम भएको नेकपा एमाले दैलेखका सचिव एवं प्रचार विभाग प्रमुख गङ्गाराम दाहालले बताउनु भयो ।

मिसनमा खटिएका नेकपा एमालेका केन्द्रीय सदस्य खगेन्द्र बिकले अन्य पार्टीभन्दा नेकपा एमाले निकै व्यवस्थित पार्टी भएको र झिनामसिना विषयहरूले दैलेखमा एमालेले जित्न नसकेको विषय आफूहरूले गाउँका जनताबाट बुझ्न पाएको बताए । आगामी दिनमा नेकपा एमालेले दैलेखका ६ वटै स्थानहरूमा विजय हासिल गर्ने गरी पार्टी सृद्धृढीकरण अभियान थालिएको बताउनु भयो ।

जनताको पिर मर्का बुझ्न यसरीले जुन पार्टी निरन्तर हाम्रो दैलोमा आउँछ आगामी दिनमा त्यही पार्टीलाई मतदान गर्ने भन्दै फरक पार्टीमा आबद्ध जनताहरूले आफूहरूलाई सुझाव दिएको बिकको भनाई छ ।

अभियानमा केन्द्रीय नेताहरू बल बहादुर महत, काँशिचन्द्र बराल, मीनबहादुर शाही, महेन्द्र शर्मा लगायतका नेताहरू खटिनु भएको छ भने प्रदेश कमिटी, जिल्ला कमिटी र भातृ सङ्गठनका नेताहरु खटिएको नेकपा एमाले दैलेखले जानकारी दिएको छ ।

विभिन्न पालिकामा जिम्मेवारी पाएका नेता तथा कार्यकर्ताहरूले चैत्र २० गतेसम्म प्रतिवेदन पेस गरिसक्नु पर्ने गरी काम थाल्न सबैलाई जानकारी गराइएको पार्टी कार्यालय सचिव यामनारायण उपाध्यायले जानकारी दिनुभयो ।