जनता टाइम्स

९ चैत्र २०७९, बिहीबार १९:१९

भैरहवा क्याम्पसमा अखिलको प्यानल नै विजयी


रुपन्देही, चैत ९ । भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुले जितेको छ ।

कुनै पनि विद्यार्थी संगठनसँग सहकार्य नगरी एक्लै निर्वाचनमा उत्रेको अनेरास्ववियुको सिङ्गो प्यानल नै निर्वाचनमा विजयी भएको हो । बुधबार भएको निर्वाचनको बिहीबार दिउसो मतपरिणाम सार्वजनिक भएको छ ।

अनेरास्ववियुका नेता बालकृष्ण पाण्डेका अनुसार चुनावमा अध्यक्षमा अनेरास्ववियुका सागर न्यौपानेले प्रतिस्पर्धी उम्मेदार भन्दा १५३ मत बढी ल्याएर विजयी हुनुभएको छ ।

त्यसैगरी सचिवमा शनि कलवारले १ सय १० मत बढी ल्याएर विजयी हुनुभएको छ । सो प्यानलबाट कोषाध्यक्षमा मनोज पन्थ, सदस्यहरुमा आशिष पन्थ, स्वेताकुमारी हरिजन, राजन गुप्ता, शैलेष यादव, मनोजकुमार यादव, प्रेमशंकर यादव, सुमनकुमारी शुक्ला र मोहित चौधरी निर्वाचित हुनुभएको छ ।

रुपन्देहीमा रहेका दुई ठूला क्याम्पस बुटवल र हरैया र देवदह क्याम्पसमा पनि अनेरास्ववियुले जितेको छ ।