जनता टाइम्स

९ चैत्र २०७९, बिहीबार १९:२९

सामुदायिक रेडियोका लागि छुट्टै कानुन बनाउन एमाले उपमहासचिव गुरुङको प्रस्ताव


काठमाडौं, चेत ९ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोका लागि छुट्टै कानुन बनाउनुपर्ने बताउनु भएको छ । सामुदायिक रेडियो प्रशारक संघको आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताउनु भएको हो ।

उपमहासचिव गुरुङले व्यापक समावेशी लोकतन्त्रको सिद्धान्तमा टेकेर सरकारले सामुदायिक रेडियोको संरक्षणका लागि सञ्चार नीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको परिस्थितिअनुसार नीतिहरु निर्माण हुनुपर्ने बताउँदै कानुन परिवेशअनुसारका कानुन निर्माण गर्न आग्रह गर्नुभयो ।

नेपालको सञ्चार नीति बदलिँदो परिस्थितिअनुसार नरहेको भन्दै उहाँले सञ्चार नीतिमा टेकेर सामुदायिक रेडियोको लागि मात्रै सरकारले कानुन ल्याएमात्रै सामुदायिक रेडियोहरु व्यवस्थित हुनसक्ने बताउनु भयो । उपमहासचिव गुरुङले सामुदायिक रेडियोलाई कसरी संरक्षण गर्ने भन्ने बारेमा राज्यको विशेष भूमिका हुन आवश्यक रहेको बताउनु भयो ।

उपमहासचिव गुरुङले राज्यले सामुदायिक रेडियोको संरक्षणका लागि विधेयक ल्याउँदा रेडियो संरक्षणका लागि आफ्नो पार्टी सदैव अग्रसर रहने प्रतिवद्धता पनि जनाउनु भयो ।