जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १३:१०

पेट्रोल छर्केर महिलाई आगो लगाउन खोज्ने पक्राउ


सुर्खेत, १० चैत । रुकुम पश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई पक्राउ गरेको छ ।

मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । ३५ वर्षीय केसी तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवाका हुन् ।

एक लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएका प्रहरी निरीक्षकको टोलीले केसीलाई पक्राउ गरेको छ । घटनास्थलदेखि उत्तरतर्फ रहेको गहुँ बारीमा लुकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

महिलाको अवस्था सामान्य रहेको छ । घटनाको कारण नखुलेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ ।