जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १४:२५

एनएमबि बैंकले २१ चैतबाट ऋणपत्र निष्कासन गर्दै, १०.७५ प्रतिशत ब्याज पाइने


काठमाडौं, १२ चैत । एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । एनएमबि बैंकले १० वर्ष अवधिको ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत २०८९/९०’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १६ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

यसैगरि सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेकोछ । यस ऋणपत्रमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख ५ गतेसम्म खुला रहनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट आवेदन दिने व्यवस्था पनि छ ।