जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १३:३४

लमजुङमा फौज्दारी मुद्दामा पहिलोपटक मिलापत्र


लमजुङ १३ चैत । लमजुङ जिल्ला अदालतको इतिहासमा पहिलो पटक फौज्दारी अर्थात ठगी मुद्दामा पहिलो पटक मिलापत्र गरिएको छ । जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत महान्यायधीवक्ता कार्यालयको सो सम्बन्धी आशयको राय प्राप्त भएपछि जिल्ला अदालतमा मिलापत्र चैत ८ गते गरिएको हो ।

चार जना जाहेर कर्ताबाट दिइएको उजुरीका आधारमा नेपाल सरकार वादी भएको उक्त मुद्दामा भारतीय नागरिक २५ वर्षीय विनोदकुमार प्रतिवादी थिए । गत पुस ३ गते सो मुद्दा दायर भई प्रतिवाद विनोदकुमार लमजुङ जिल्ला कारागारमा थुनामा थिए । उनी पक्षका वकिल विजयप्रकाश अधिकारीको पहलमा सो मुद्दा मिलापत्र भएको हो ।

उक्त मुद्दा मिलापत्र हुँदा प्रतिवादीले कैद बस्नु नपर्ने र जरिवानाको रकम तिर्न नपर्ने गरी मुक्त भएका छन् । उनी मिलापत्र भएकै दिन चैत ८ गते कारागारबाट मुक्त भई आफ्नो घरमा फर्की गएको उनी पक्षका वकिल अधिकारीले बताउनुभयो ।

भारतको विहार राज्यको वेगुसराई जिल्ला, नाथकोठी थाना–१० मा स्थायी बसोबास भएका विनोदकुमारले लमजुङका केही महिलालाई सुनका गहना टल्काई दिन्छु भन्ने बहाना गरी गहनाको तौल कम गराई फिर्ता दिएपछि उनका विरुद्धमा पीडितहरूले उजुरी गरेका थिए । उजुरी दिनेमा विमाया तामाङ, अनिता तामाङ, स्मृति लामा र गुर्दौली थापाहरू रहेको जिल्ला अदालतबाट बताइएको छ ।

उनीहरूसँग सुनका तौल कम गराएका गहनासमेत अदालतमा पेश गरिएको थियो । ती गहना उनीहरूलाई नै फिर्ता दिई तौल कम गरेको ठहरभएको रकमको कुल विगो रकम समेत पिडकका वकिलमार्फत पीडितको खातामा एक लाख २० हजार ४७९ रुपैयाँ पीडकबाट भराइएको नि. श्रेस्तेदार विश्वराज कुईकेलले बताउनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी विगो विमाया तामाङको ४६ हजार ७१४ रुपैयाँ थियो भने सबैभन्दा कम विगोमा स्मृति लामाको १६ हजार ९६ रहेको थियो । अन्य दुईजना अनिता तामाङको २५ हजार ७८० रुपैयाँ र गुर्दौली थापाको ३१ हजार ८८९ रुपैयाँ ठहर भएको कुईकेलले जानकारी दिनुभयो । लमजुङ जिल्ला अदालतको इतिहासमा यो प्रकृतिको मुद्दा मिलापत्र भएको यो नै पहिलो घटना हो ।