जनता टाइम्स

१५ चैत्र २०७९, बुधबार १७:२६

५ स्थान घटुवामा परे काठमाडौं महानगरका मेयर


काठमाडौं, चैत १५ । राष्ट्रियसभामा पेश भएको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा काठमाडौं महानगरपालिकाको मेयरको मर्यादाक्रम निकै तल झारिएको छ ।

प्रधानन्यायाधीशसहित समग्र न्यायपालिका मर्यादाक्रममा तल झारिएको बिद्येयकमा काठमाडौंका मेयरलाई १०औं स्थानबाट १५ औंमा पुर्याएर ५ स्थान तल झारिएको हो ।

यसअघि १०औं मर्यादाक्रममा नै रहेका काठमाडौं महानगरपालिकाका प्रमुखलाई ५ तह घटुवा गरेर १५औं मर्यादाक्रममा राखिएको छ । यसअघि ११औं मर्यादाक्रममा रहेका काठमाडौं महानगरपालिकाबाहेकका सबै महानगरपालिका प्रमुखलाई पनि काठमाडौं महानगरपालिका मेयरसँगै १५औं तहमा राखिएको छ । यसअघि ११औं मर्यादाक्रममा नै रहेको जिल्ला समन्वय समितिका प्रमुख पनि ४ तह घटाएर १५औं नम्बरमा झारिएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर र मुख्यसचिव तथा प्रधानसेनापतिको मर्यादाक्रम बराबर अर्थात १०औं नम्बरमा भए पनि यस संसदमा प्रस्ताव गरिएको मर्यादाक्रममा तलमाथि भएको छ ।

१०औं नम्बरमा रहेका नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापतिलाई ३ तह घटाएर १३औं नम्बरमा पुर्याउँदा १०औं नम्बरमा नै रहेका काठमाडौं महानगरपालिका मेयर १५औं नम्बरमा झारिएको हो ।राष्ट्रियसभाका सदस्य गोपीबहादुर अछामीसहित ९ जना सांसदले चैत ३ गते राष्ट्रियसभामा दर्ता गराएको विधेयमा प्रधानन्यायाधीशसहित समग्र न्यायपालिकाको मर्यादाक्रम तल झारिएको हो ।

यसअघिको मर्यादाक्रममा पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश थियो । तर, अहिले प्रस्ताव गरिएको विधेयकमा भने तेस्रो नम्बरसम्मको मर्यादाक्रमलाई यथावत राखिए पनि चौथो नम्बरमा रहेको प्रधानन्यायाधीशको मर्यादाक्रम पाँचौंमा राखेर यसअघि पाँचौं नम्बरमा रहेको प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभामा अध्यक्षलाई एक तह माथि तानिएको छ ।

यसैगरी यसअघि छैटौं नम्बरमा रहेका उपप्रधानमन्त्रीको मर्यादाक्रम पनि एक तह तल झारेर सातौंमा राखिएको छ । आठौं नम्बरमा नै रहेका पूर्वप्रधानन्यायाधीशको मर्यादाक्रम दुई तह उकालेर छैटौंमा पुर्याइएको छ । छैटौं मर्यादाक्रममा रहेका पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्षको पुरानो मर्यादाक्रम कायम गरिएको छ ।

यसअघि आठौं मर्यादाक्रममा रहेका संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष, व्यवस्थापिका(संसदका पूर्वसभामुख दुई तह बढुवा गरेर छैटौंमा उकालिएको छ ।यसअघि छैटौं नम्बरमा रहेका उपप्रधानमन्त्रीको मर्यादाक्रम सातौंमा झारिएको छ । तर, आठौंमा रहेका प्रतिनिधिसभामा उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख (आफ्नो प्रदेश बाहिर) लाई सातौंमा उकालिएको छ । प्रदेश प्रमुख (आफ्नो प्रदेशभित्र) लाई भने सातौंमै यथावत राखिएको छ ।

यसअघि सातौं मर्यादाक्रममा प्रदेश प्रमुख (आफ्नो प्रदेशभित्र) मात्रै रहेको थियो । यसअघि आठौं नम्बरमा रहेको प्रदेश प्रमुख ९आफ्नो प्रदेश बाहिर), मुख्यमन्त्री (आफ्नो प्रदेशभित्र)लाई आठौं नम्बरबाट एक तह बढाएर सातौंमा पुर्याएको छ । आठौं नम्बरमा रहेका संघीय सरकारका मन्त्री र प्रतिनिधिसभाका विपक्षी दलका नेताको मर्यादाक्रम यथावत कायम गरिएको छ ।

नवौं नम्बरमा रहेका संघीय सरकारका राज्यमन्त्री, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्को सदस्य, संवैधानिक निकायका प्रमुख मर्यादाक्रममा एक तह मुनि अर्थात दशौंमा झारिएको छ । आठौं नम्बरमा रहेका नेपाल रत्न पाउनेहरुलाई पनि दुई तह घटाएर १०औं नम्बरमा झारिएको छ ।