जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार १६:४८

गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा : अर्थ–रक्षा–परराष्ट्रसहित कांग्रेसले रोजेर मन्त्रालय राख्दा कुन दलले पाए यी मन्त्रालय ? (सूचीसहित)


काठमाडौं, चैत १६ । सत्तारुढ गठनबन्धनबीच सरकारमा पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेसले प्रस्ताव गरेअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहबाहेकका महत्वपूर्ण मन्त्रालय नलिन सहमत भएसँगै मन्त्रालयको भागबण्डा टुंगो लागेको हो ।

आज भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसले उपप्रधानमन्त्री र अर्थमन्त्रीसहित ८ वटा मन्त्रालय पाएको छ ।

गठबन्धनको सवै दल जोडदा पनि एक्लै ठूलो दल कांग्रेसले अर्थ, रक्षा, परराष्ट्र, स्वास्थ्य, सहरी विकास‚ भूमि व्यवस्था तथा सहकारी‚ सामान्य प्रशासन र कानुन मन्त्रालय पाउने भएको छ । राष्ट्रको आर्थिक मेरुदण्डदेखि अदालतसम्म, स्वास्थ्यसँगै बिदेशदेखि रक्षासम्मको बागडोर कांग्रेसले लिएको हो ।

यस्तै नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय पाएको छ । माओवादीको भागमा गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ ।

यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत साजवादीको भागमा भौतिक पूर्वाधार तथा यातायात र वन मन्त्रालय परेको छ । यसैगरी नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय पाएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ । मन्त्रालयको भागबण्डा टुंगेसँगै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य अघि बढाउनु भएको छ ।