काठमाडौं, चैत १६ । नेकपा एकीकृत समाजवादी २ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने निर्णय गरेकै दिन सो पार्टीका बिद्यार्थी नेताहरु आतंक मच्चाउन थालेका छन ।
माधव नेपाल नेतृत्वको समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्वबियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नो सरकार आएको दम्भमा त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीमाथि आक्रमण गरेका हुन ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशक समेत रहनु भएका अधिकारीमाथि एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हातपात गरेका हुन । कर्मचारीमाथि हातपात भएपछि त्रिवि प्राध्यापक संघले गम्भीर आपत्ति जनाएको छ ।
त्रिविका उपकुलपति प्राडा. धर्मकान्त बास्कोटाले आयोजना गरेको उच्चस्तरीय बैठकमा पूर्वनिर्धारित मितिमा स्ववियू निर्वाचन सम्पन्न हुन नसकेका क्याम्पसमा निर्वाचन गर्ने सम्बन्धमा छलफल भइरहेको बेला पराजुलीको नेतृत्वमा रहेको समूहले अधिकारीमाथि हातपात गरेको हो । सो कार्यको नेपाल प्राध्यापक संघले आपत्ति जनाएको हो ।
‘विश्वविद्यालय जस्तो गरिमामय संस्थामा यस्ता अभद्र र अमर्यादित आक्रमण भइरहनु निन्दनीय कार्य हो । शैक्षिक संस्थाभित्र विविध समस्यालाई शान्तिपूर्ण तरिकाले वार्ता र समझदारीको माध्यमबाट समाधानको उपाय खोजिनु पर्नेमा प्राज्ञिक क्षेत्रमा संलग्न आफ्ना गुरूवर्गमाथि नै यसरी भौतिक रूपबाट आक्रमण गर्नु दुःखद विषय हो,’ संघका अध्यक्ष प्रा.डा.रमेशकुमार जोशी र महासचिव सहप्राध्यापक नरेन्द्रप्रसाद सिवाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संघले यस्ता आपराधिक क्रियाकलापमा संलग्न दोषीमाथि कानुन बमोजिम आवश्यक कारबाही अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्