जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार १७:०८

प्रचण्डलाई अध्यक्ष ओलीको प्रश्न : हाम्रो भूमि कहाँ के भइरहेको छ ? खुलस्त भन्नुस् !


काठमाडौं, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारको भूमि कहाँ–कहाँ मिचिएको छ खुलस्त पार्न माग गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै अध्यक्ष ओलीले ताबेदारीको सट्टा भूमिमा दाबेदारीको कुरा गर्न उहाँले सुझाव दिनुभयो ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाली भूमिबारे के भइरहेको छ भनेर बोल्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो सीमा मिचिँदो छ । भूमि खुम्चिँदो छ । हाम्रो भूमि मिचिँदै छ । सरकार मौन छ । किनभने, बोल्यो भने उसको सत्ता धरापमा पर्छ ।’

राष्ट्रियता अफ्ठ्यारोमा हुँदा देशको पक्षमा बोल्दा सरकार, पद खतरामा पर्छ भनेर राष्ट्रका पक्षमा बोल्न सकिँदैन भने राष्ट्रको सरकार भन्न लायक नहुने उहाँले बताउनुभयो । ‘हाम्रो भूमि र अखण्डताको बारेमा सरकारले अविलम्ब बोलोस् । भोलि प्रधानमन्त्रीजी यहाँ आउँदै हुनुहुन्छ। भोलि प्रधानमन्त्रीजीले बोल्नुस्’, ओलीले थप्नुभयो, ‘हाम्रो भूमि के भइरहेको छ ? भूमि अतिक्रमित भएको छ कि छैन ? भएको छ भने कहाँ कहाँ भएको छ ?’

उहाँले भूमिबारे बोल्न नसकेको भन्दै विदेश भ्रमणमा किन जान लागेको भन्ने प्रश्न गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘विदेश भ्रमणमा जाँदै किन हुनुहुन्छ ? यहाँ चुँ गर्न सक्नु भएको छैन । त्यहाँ गएर बोल्न सक्ने कुरै छैन । के गर्न जाँदै हुनुहुन्छ ? जमिन दाबेदारी गर्न जाँदै हुुनुहुन्छ कि अरु नै कुरा ?’