जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार १७:२७

साताको सेयर बजार : ३ दिन बढ्यो, २ दिन घट्यो


काठमाडौं, १६ चैत । चालु सातामा सेयर बजार तीनदिन बढ्दा दुईदिन ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार २६.७८ अंकले घटेको नेप्से दोस्रो दिन सोमबार १७.७० अंकले बढेको थियो । सोमबार बढेको सेयर बजार निरन्तर तीनदिन बुधबारसम्म बढिरह्यो । यसैगरी साताको तेस्रो दिन मंगलबार १२.१० अंकले बढेको सेयर बजार सोमबारको तुलनामा करिब ६ अंकले कम हो ।

बुधबार भने नेप्से झिनो अंकले बढेको थियो । उक्त दिन एक अंकले बढेर १९१९ को विन्दुमा आएर रोकिएको थियो । सोही दिन कारोबार रकम भने घटेको थियो । गत आइतबार १ अर्ब २८ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको सेयर बजार बुधबार भने कारोबार रकम घटेर ८१ करोड रुपैयाँले झरेको थियो ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । लगातार तीनदिनदेखि बढेको सेयर बजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ । बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा आएर अडिएको छ । आइतबार नेप्से परिसूचकको विन्दु १८८८.१७ बाट सुरु भएर अन्तिम कारोबार दिन बिहीबार १९०८.५५ विन्दुमा उक्लिएको छ ।