जनता टाइम्स

१८ चैत्र २०७९, शनिबार ०९:०२

रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा


काठमाडौं, १८ चैत्र । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो ।नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् । नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो । आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ ।

केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ । २०७६ साल माघदेखि रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात प्रभावित बनेको थियो । २०७७ साल असारमा सामान आयात गर्न थालिएको थियो । तर निर्यात हुन सकेको थिएन । निर्यात गएको पुसदेखि सुरु भएको थियो ।

गएको बुधबार ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकमा तत्काल रसुवागढी–केरुङ र वैशाख तेस्रो हप्तादेखि तातोपानी–झाङ्मु नाकामा आवतजावत नियमित गर्ने सहमति भएको थियो । कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएको तातोपानी नाकामा अर्को महिना १८ गतेदेखि दुईतर्फी व्यापार र आवागमन नियमित हुनेछ ।