जनता टाइम्स

१८ चैत्र २०७९, शनिबार १६:१२

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, १८ चैत । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ।

यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ । हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ ।

भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको निगमका प्रबन्ध निर्देशक उमेश थानीले जानकारी दिनुभयो । यसका साथै, खाना पकाउने एलपी ग्याँसको मूल्य समेट घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएसँगै घाटा ५०० रुपैयाँमा आइपुगेको छ । हाल निगमले एलपी ग्याँसको बिक्री प्रतिसिलिन्डर १८८ सय रुपैयाँमा बेच्दै आइरहेको छ ।