जनता टाइम्स

१९ चैत्र २०७९, आईतवार १८:५१

ममाथिको कारबाही फुकुवाको निर्णयमा हास्यास्पद : गोविन्दराज जोशी


काठमाडौं, १९ चैत । नेपाली कांग्रेसले कारबाही फुकुवाको निर्णय गरेपछि तनहुँका नेता गोविन्दराज जोशीले आफूलाई उक्त निर्णय मान्य नहुने बताउनुभएको छ । उहाँले चुनावको मुखमा भ्रम छर्ने उद्देश्यले कारबाही फुकुवा गर्नुको कुनै औंचित्य नभएको बताउनुभएको हो । ‘वर्षौँदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको छ ।

१०औं हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारबाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरिएको छ, यो सरासर गलत छ, यसप्रति मेरो घोर आपत्ति छ,’ जोशीले सामाजिक सन्जालमार्फत भन्नुभएको छ । उहाँले विगतमा पटक–पटक वार्ता टोली नै बनाएर संवादको पहल गर्दा पनि कांग्रेस नेतृत्वले बेवास्ता गरेको भन्दै अहिले आफूसँग कुनै सरसल्लाह नगरी केन्द्रबाट गरिएको निर्णय आफूलाई स्वीकार्य नहुने बताउनुभयो ।

‘नेपाली कांग्रेसले म र मसँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन । चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु,’ उहाँले थप्नुभएको छ,‘म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको निर्णयको खण्डन गर्दै सोकाप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले पार्टीमा आफूहरुले लामो समयदेखि आन्दोलन गरिरहेको दाबी गर्नुभयो । ‘हामीले पदका लागि मात्रै दाबी गरेको होइन, नेपाली कांग्रेस सही बाटोमा आउनुपर्यो भन्ने हाम्रो आन्दोलन हो । त्यो कुरा अहिले देखिएको छैन । भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ, आजसम्म मसँग कुनै कुराकानी भएको छैन,’ उहाँले भन्नुभएको छ,‘अहिले एक्कासी कारबाही फुकुवा भएको भनेर प्रचार गरिएको छ । यस्तो कुरा हामीलाई स्वीकार छैन, हाम्रो सहमति छैन ।’