जनता टाइम्स

२५ चैत्र २०७९, शनिबार ०९:२८

एमालेमै फर्कने अन्तिम गृहकार्यमा बामवेद गौतम, उमेर हद हटाउन माग गर्दै निवेदन


काठमाडौं, चैत २५ । नेकपा एमालेले पार्टी संरचनामा लागू गर्दै आएको अधिकतम उमेर हदको प्रावधानलाई हटाउन माग गर्दै पूर्वउपाध्यक्ष वामदेव गौतमलेआफू निकट नेतामार्फत निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । गौतम निकट नेता निमकान्त पाण्डेले निर्वाचन आयोगमा शुक्रवार निवेदन दिनुभएको हो ।

उक्त प्रावधान नेकपा एमालेले अबलम्वन गर्दै आएको लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत गरेहो पाण्डेको तर्क छ । नेकपा एमालेको ९औं महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यका लागि ७० वर्षे उमेर हद लगाएको थियो ।

सोही प्रावधान पार्टीको विधान, नेपालको संविधान, प्रचलित कानुन र लोकतान्त्रिक मुल्य मान्यता विपरीत रहेको भन्दै नेता पाण्डेले खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिनुभएको हो ।

’नेकपा (एमाले) को विधानको धारा ४ मा पार्टी सदस्यको योग्यता तोकिएको छ भने धारा ५ मा सदस्यता प्राप्त गर्ने प्रक्रिया तोकिएको छ । विधानको प्रस्तावनामा पार्टीको सार्वभौम अधिकार सदस्यहरूमा निहित रहनेछ भन्ने उल्लेख हुनुका साथै विधानको धारा ७५ बमोजिम पार्टी सदस्य भइसकेपछि सार्वभौम अधिकार प्राप्त हुने तथ्य स्थापित छ । पार्टी सदस्य पार्टीको महाधिवेशन वा अधिवेशन प्रतिनिधि भएपछि निजले पार्टीको नेतृत्वमा निर्वाचित हुन पाउने नैसर्गिक अधिकारमा विधानको अन्य कुनै पनि व्यवस्थाले बाधा पुर्याउन हुँदैन । प्रचलित जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ३ मा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्न नहुने व्यवस्था गरिएको छ । यसबाट कसैलाई कुनैपनि भेदभाव गर्न नहुने स्पष्ट छ,’ पाण्डेले उजुरीमा लेख्नुभएको छ, ‘यस्तो अवस्थामा नेकपा (एमाले) को विधानको धारा ६४ मा उल्लेख गरिएको सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्नेछ भन्ने उल्लेख छ । यो व्यवस्था पार्टीको विधानको प्रस्तावना र धारा ४ सँग स्पष्ट रुपमा बाझिएको छ । नेकपा (एमाले) पार्टीको विधानमा नेपालको संविधान, प्रचलित नेपालको कानुन, प्रचलन र लोकतान्त्रिक मुल्य मान्यता विपरितको भेदभावपूर्ण प्रावधान कायमै रहेकाले उक्त व्यवस्था निस्क्रिय गरी पाउन निम्न लिखित निवेदन गर्दछु ।’

उहाँले अमेरिका, बेलायतका सरकारसहित विदेशका दलहरूमा पनि अधिकतम उमेर हदको नियम लागू नगरेको सन्दर्भ जोड्दै उमेर हदको प्रावधानले पार्टीको नेतृत्व गर्न पाउने व्यक्तिको अधिकार हनन् हुने बताउनु भएको छ । गौतमले यसअघि नै ७० बर्षे प्रावधान हटाए एमालेमा फर्कने बताइसक्नु भएको छ ।