जनता टाइम्स

२५ चैत्र २०७९, शनिबार १३:३८

काठमाडौं महानगरका मेयर बालेनलाई सनक चढेपछि


काठमाडौं, चैत २५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेन आफ्नो पदीय मर्यादा बिर्सिएर आपत्तिजनक गालीगलौजमा उत्रनुभएको छ ।

मेयर बालेनले आज बिहानै सिंहदरवारमा रहेका नेता (प्रधानमन्त्री र मन्त्री) हरुलाई सिसडोलमा फोहोरसँगै गाडनु पर्ने भन्दै आपत्तिजनक अभिब्यक्ति दिनुभएको हो । बिहानै प्रधानमन्त्री र मन्त्रीलाई गाली गर्नुभएका मेयर बालेनले दिउसो नेपाल प्रहरीको कार्यालय सार्न उर्दी जारी गर्नुभएको छ ।

काठमाडौंको मेयर बनेको एक बर्ष पुग्न लाग्दा मेयर बालेनले निर्माणको काममा सिन्को भाँच्नु भएको छैन । मेयर बनेपछि उहाँ जहाँतही भत्काउने, कँही कतै नबनाउने काममा लाग्नुभएको छ । महानगरको बिकासमा सिन्को भाँच्ने काम नगर्नुभएका मेउर बालेनले छोपिएको टुकुचा खोला भत्काएर कुरुप बनाइ छाडनु भएको छ ।

सामाजिक सञ्जालमा हरेक शनिवार केही न केही फण्डा गर्दै आउनु भएका मेयर बालेनले आज बिहानै प्रधानमन्त्री मन्त्रीलाई सिसडोलमा गाडनु पर्ने बताउनु भएको छ । ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चीकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ,’ मेयर शाहले लेख्नुभएको छ । सिंहदरवारमा रहने नेता भनेको प्रधानमन्त्री र मन्त्रीहरु हुन ।

नेतालाई सिसडोलमा डम्प गर्नुपर्ने बताएको केही समयपछि मेयर बालेनले अर्का स्ट्याटस लेख्नुभएको छ । मेयर शाहले नेपाल प्रहरील नै बाटो मिचेर संरचना बनाएको भन्दै ती संरचना हटाउन निर्देशन दिनुभएको हो ।

कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै नहुने भन्दै उनले कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउनु गलत हुने भन्दै भत्काउन निर्देशन दिनुभएको हो । ’कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला। नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ ।’ बालेनले सामाजिक संजालमा लेख्नुभएको छ ।

उहाँले फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनुपर्छ भन्दै फुटपाथमा व्यापार गर्न रोक लगाउने नियम सर्वसाधारणलाई मात्र नभएर सबैका लागि भएको पनि बताउनु भएको छ । ’फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ। यो नियम सर्वसाधारणका लागि मात्रै होइन। सबैका लागि हो र हुनु पर्छ,’ शाहले लेख्नुभएको छ ।

उहाँले सार्वजानिक संरचना मिचेर संरचना बनाउने राजदुतावासलगायत विदेशी नियोगका हकमा सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका जानकारी दिनुभएको छ ।

’राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ। कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ,’ शाहले भन्नुभएको छ ।