नेपालगञ्ज, चैत २६ । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले मानव अधिकार उलङ्घनका गम्भीर प्रकृतिका घटनामा संलग्नलाई माफी दिन नसकिने बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज समेत रहनुभएका बस्नेतले संघको नवौँ राष्ट्रिय महाधिवेशनको तयारी सन्दर्भमा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले दुई पक्षीय भिडन्त बाहेक हत्या, अपहरण, बलात्कार लगायतका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो । त्यस्ता घटनामा संलग्नलाई माफी दिँदा मानवअधिकार मर्ने र अराजकतावादी शक्ति मौलाउने बस्नेतको भनाइ छ ।
एमाले नेता बस्नेतले विदेशी शक्तिहरूले नेपालमा नियन्त्रित अराजकता मच्चाउन प्रयास गरिरहेको पनि बताउनु भयो । कतिपय राष्ट्रिय अन्तर्राष्ट्रिय तत्त्व एक ठाउँमा बसेर नेपाललाई खेल मैदान बनाउने प्रयास गरिरहेका बस्नेतको भनाइ छ । आजको युवा आन्दोलनलाई अराजकतावादी तत्त्वको नियन्त्रणबाट बाहिर लैजान आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।
बस्नेतले राष्ट्रवादी शक्तिलाई अहिले दानवीकरण गर्ने प्रयास गरिएको भन्दै गम्भीर आपत्ति जनाउनु भयो । ‘कतिपय राष्ट्रवादी शक्ति छन्, तिनीहरूलाई दानवीकरण गरिने, दारा नङ्गा हालिदिने, त्यो दानवत्वकरण गरिएका शक्तिमा हामी पनि पर्छौँ, एकथरी निश्चित मानिलाई देवत्वकरण गरिने, दानवका रूप भएका मानिसलाई देवत्वकरण गरिने प्रयास हो त्यो’, बस्नेतले भन्नुभयो ।
देशमा अनेक खालका नौटङ्कीहरू देखिएका बताउँदै बस्नेतले त्यसबाट युवालाई जोगाउनु पर्ने बताउनुभयो । मुलुक विकासको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने र त्यो शक्ति नेकपा एमाले भएको उहाँले प्रष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्