जनता टाइम्स

२६ चैत्र २०७९, आईतवार १६:१४

महानगरवासीमाथि मेयर बालेनको गम्भीर घात, महामारी फैलने समयमा फोहोर उठाउन रोक


काठमाडौं, चैत २६ । काठमाडौं महानगरपालिकाले आजदेखि सिंहदरबारको फोहोर उठाउन बन्द गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को निर्देशनमा सिंहदरवारको फोहोर उठाउन बन्द गरेको हो ।

महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेनले शुक्रबार सामाजिक सञ्जालमार्फत सिंहदरवारको फोहोर नउठाउने घोषणा गर्नुभएको थियो । सोही घोषणालाई आधार मानेर महानगरपालिकाले सिंहदरबारको फोहोर नउठाएको हो ।

फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको बताउनु भएको छ ।

फोहोर उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक समेत रहनुभएका घिमिरेका अनुसार सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उठ्ने गरेको थियो । सिंहदरबारबाट उठेको फोहोर ल्याण्डफिल साइट बञ्चरेडाँडा लैजाने गरिएको थियो ।

परिवर्तन सेवा प्रालिले सहरी विकास मन्त्रालय अन्तर्गत ठेक्का मार्फत सिंहदरबारको फोहोर उठाउँदै आएको थियो । फोहोर उठाउन सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले घिमिरेलाई फोन गरेर निर्देशन दिए पनि मेयर बालेनले ‘बञ्चरेडाँडामा सिंहदरबारको फोहोर जाँदैन, तपाईंहरुले नउठाउनुस’ भनेपछि आजदेखि फोहोर रोकिएको हो ।