नेपालगञ्ज, २६ चैत । नेकपा (एमाले)को जनसंगठन मध्येको राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय अधिवेशन सोमबारदेखि नेपालगञ्जमा हुन गइरहेको छ । अधिवेशनका लागि अधिकांश प्रतिनिधिहरू नेपालगञ्ज पुगिसक्नुभएको छ । अधिवेशनको उद्घाटन सोमबार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै हुनुहुन्छ । अधिवेशनका लागि अहिले नेपालगञ्ज वेहुली झैं सिंगारिएको छ ।
लामो समयको अन्तरालमा हुन लागेको अधिवेशन भएर होला अधिवेशनमा नेतृत्वका आकांक्षी पनि बढी नै देखिएका छन् । युवा संघमा लामो समय अध्यक्ष रहनुभएका र अहिले पनि पार्टीबाट युवा संघ हेर्ने जिम्मेवारी पाउनु भएका एमाले नेता महेश बस्नेत अधिवेशनस्थलमा पुगिसक्नु भएको छ । नेपालगञ्ज पुग्नासाथ उहाँको व्यस्तता पनि बढेको देख्न सकिन्छ । युवा संघमा उहाँलाई अनदेखा गरेर नेतृत्वमा पुग्न असम्भव भएर नै होला उहाँका अघिपछि आँकांक्षीको लर्को देखिएको छ ।
एमालेले सबै जनसंगठनका लागि भनेर नेतृत्वका लागि निश्चित मापदण्ड बनाएको छ । सो मापदण्डअनुसार पदाधिकारीमा १७ जनाभन्दा बढी हुने छैनन् । सकेसम्म सर्वसम्मत गराउन लागिपर्नु भएका नेता बस्नेतलाई यही मिलाउन अहिले धौ–धौ परेको बताइएको छ । अध्यक्षका लागि अहिलेसम्म तीन जनाले दावी गरिरहनु भएको छ । यी तीजनामा क्षितिव थेवे, सन्तोष रावल र अञ्जना अधिकारी हुनुहुन्छ । उपाध्यक्षमा सीता सुवेदी, प्रकाश गौतम, विष्णा चन्द, पुष्पराज श्रेष्ठ, अमित लामा रहनुभएको छ ।
महासचिव पदमा सुमन पुरी, कृष्णहरि केसि, राजन थापा, महाराज गुरुङ र रमेश तिवारीले दावी गरिहनुभएको बुझिएको छ । युवा संघको पदाधिकारीमा अध्यक्ष–१ उपाध्यक्ष–३ वा ४, महासचिव–१ र सचिव ९ वा १०, उपमहासचिव–२ जना चुनिने छन् । उपाध्यक्ष र सचिवको संख्या प्रतिनिधको राय लिएर अध्यक्ष मण्डलले तय गर्ने बुझिएको छ । उपाध्यक्ष ३ जना तोकिए सचिव १० जना हुनेछन् भने उपाध्यक्ष ४ जना हुने तय गरिए सचिव ९ जना हुनुहुनेछ ।
रोचक कुरा त के छ भने अन्य सबै पदमा निर्धारित सिट संख्या भन्दा बढीले दावी गरिरहँदा उपमहासचिवमा कसैले दावी नगरेको बुझिएको छ । सकेसम्म सर्वसम्मत बनाउने प्रयास भइरहेको र चुनाव नै गर्नुपर्ने अवस्था आएमा पनि त्यसका लागि सम्पूर्ण तयारी पुरा गरिसकिएको नेता महेश बस्नेतले अधिवेशनस्थलबाटै जानकारी गराउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्