जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार १२:५३

चर्काे आलोचनापछि गृह मन्त्रालयले सच्यायो विवादित परिपत्र, अब मावली होइन आमाकै थरबाट जन्मदर्ता


काठमाडौं, चैत २७ । चर्काे बिरोधपछि अन्ततः गृह मन्त्रालय आफ्नो गलत निर्णय सच्याउन बाध्य भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बाबुको ठेगान नभएका बच्चाको मावलीको थर राखेर जन्मदर्ता गरिदिने निर्णय सच्याएको छ ।

चौतर्फी विरोधपछि विभागले एकल महिलाबाट जन्मिएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्न देशभरका सबै वडा कार्यालयलाई आइतबार पुनस् परिपत्र जारी गरेको छ । यसअघि विभागले चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्न परिपत्र गरेको थियो ।

विभागले आइतबार जारी गरेको ८ बुँदे परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने उल्लेख छ । मावली थरको सट्टा बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना भनी परिपत्रमा उल्लेख गरेको छ ।