जनता टाइम्स

७ भाद्र २०७६, शनिबार ०९:४१

रवि लामिछानेलाई शालिकराम पुडासैनीको त्यो म्यासेज


काठमाडौं, भदौ ७

अस्मिता र शालिकराम बीचको कुराकानीका प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकार देखिँदैनन् । रविको ख्यातिलाई शालिकरामले बारम्बार भजाउन खोजे पनि उनीहरूको कुराकानीमा रविको कुनै भूमिका रहेको प्रसंग देखिँदैन ।

शालिकरामले भने बारम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ । उनले माघ २९ मा रविसँग आफूले गरेको म्यासेजको स्क्रिनसट भन्दै अस्मितालाई एउटा फोटो पठाएको देखिन्छ । उक्त स्क्रिनसटमा शालिकरामले लेखेका छन्, ‘दाइ मलाई माफ गर्नुहोला । तपाईंहरूले अफिसमा मलाई सधैं जिस्क्याउने मान्छेले मलाई धोका दिएकी छ दाइ ।’

कान्तिपुरलाई प्राप्त उक्त स्क्रिनसट धमिलो देखिन्छ । त्यसमा उनले आफूहरूको सम्बन्धबारे ‘सिधा कुरा जनतासँग’ टिम जानकार रहेको संकेत गरेका छन् । आफूलाई खोज्न प्रयास नगर्न भन्दै उनले लेखेका छन्, ‘धेरै कुरा सोचेर मन बुझाउन सकिनँ दाइ ।’

अस्मिताका नजिकका साथी, उनी कार्यरत अस्पतालका सहकर्मी, उनका दाइ र अस्मितासँग कुराकानी गरेकी अधिवक्तासँग कान्तिपुरले गरेको कुराकानीबाट उनीहरूको सम्बन्धबारे सञ्चारकर्मी रवि पूर्णजानकार देखिँदैनन् । ‘रविसँग न कहिल्यै अस्मिताको कुरा भएको देखिन्छ, न उनीहरूबीच चिनापर्ची नै देखिन्छ,’ अधिवक्ता फूलमायाले अस्मितालाई उद्धृत गर्दै भनिन् ।

त्यसो त शुक्रबार मात्रै पत्रकार टेकनारायण भट्टराईमार्फत बाहिरिएको रविको अडियो अन्तर्वार्तामा पनि उनले अस्मितासँग युवराज र आफ्नो पहिला कुनै चिनाजानी नभएको, फोन र कुनै माध्यमबाट संवाद नभएको दाबी गरेका छन् ।

शालिकराम विवाहित रहेको थाहा पाएपछि पनि शालिकरामले बारम्बार मानसिक तनाव दिन थालेपछि अस्मिताले सम्बन्धबाट छुटकारा मिलाइदिन रविले प्रयास गरिदिए हुने भन्ने मनसाय राखेको देखिन्छ । अस्मिताले न्युज२४ मा कार्यरत केही पत्रकारलाई भेटेरै शालिकरामबारे कुरा राखेको र समस्या समाधान निम्ति पहल गरिदिन अनुरोध गरेकी थिइन् ।

त्यही पहलका दौरान अस्मिताले शालिकरामसँगको च्याटको स्क्रिन सट न्युज२४ का पत्रकार अनिल ढुंगेललाई दिएको अस्मिता निकट साथीहरूले बताए । शालिकरामको आत्महत्यामा रवि मुछिएपछि केहीले सोही कुराकानीको स्क्रिन सट सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै रवि निर्दोष रहेको स्टाटस लेखेका थिए ।

कान्तिपुरले गरेको टेलिफोन कुराकानीमा भने अनिलले यसबारे खुलेर कुरा गरेनन् । ‘थाहा भएन । म यस विषयमा बोल्न चाहन्नँ । मैले अदालतमा बोल्ने हो,’ उनले भने । अस्मिताले तपाईंलाई शालिकरामसँग भएको कुराकानीको केही प्रमाण दिएकी थिइन् भन्ने प्रश्नमा उनले भने, ‘मलाई केही थाहा छैन । मलाई फोन नगर्नुस् ।’

शालिकरामले आत्महत्या गरेको २ दिनपछि न्युज२४ बाट अस्मितालाई फोन गएको देखिन्छ । अस्मिता कार्यरत बीपी स्मृति अस्पतालकी सेयर सदस्यसमेत रहेकी स्टाफ नर्स जिता बरालले न्युज२४ बाट बारम्बार अस्मितालाई अन्तर्वार्ताका निम्ति फोन आएको तर आफूहरूले मिडियामार्फत सार्वजनिक हुँदा अस्मितालाई सार्वजनिक रूपमा अप्ठ्यारो आउन सक्ने भएकाले प्रस्ताव अस्वीकार गरेको बताइन् ।

आमाको उपचारका निम्ति अस्मिता ग्रिनसिटी अस्पतालमा रहेका बेला न्युज२४ कै पत्रकार बताउने केहीले आफूहरू अस्पताल बाहिर रहेको र थोरै भए पनि कुरा राखिदिन भन्दै बारम्बार आग्रह गरेका थिए । शालिकरामको आत्महत्यापछि किन न्युज२४ ले बारम्बार अस्मिताको अन्तर्वार्ता गर्ने प्रयास गर्‍यो ? के त्यसमा रविको कुनै भूमिका थियो ? यसबारे भने केही तथ्य खुलेको छैन । (कान्तिपूर दैनिक)