जनता टाइम्स

२८ चैत्र २०७९, मंगलवार १८:४१

काठमाडौं महानगरका मेयर बालेन शाहबिरुद्ध कठोर कदम चाल्ने सरकारको संकेत, मन्त्रिपरिषदले लियो सचेत गराउने निर्णय


काठमाडौं, चैत २८ । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सचेत गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मेयर बालेनले गैरजिम्मेवारी पना देखाएको ठहर गर्दै जिम्मेवार भएर काम गर्न सचेत गराउने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको सरकारको भनाई छ ।

बैठकमा शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर साहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न भनेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्था विरुद्ध रहेको बताउनु भयो ।

उहाँले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताउनु भयो ।

सञ्चारमन्त्री शर्माका अनुसार बैठकमा आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाषक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने विषयलाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको छ ।