जनता टाइम्स

२८ चैत्र २०७९, मंगलवार १९:३५

बलात्कार अभियोगमा पक्राउ परे न्यायाधीश


काठमाडौं, चैत २८ । न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले न्यायाधीश गिरीलाई गोंगबुको पवित्रनगरबाट आज पक्राउ गरेको हो ।

जिल्ला अदालतले बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताउनु भयो । कार्कीका अनुसार पक्राउ परेका न्यायाधीश गिरीलाई कपिलवस्तु पठाउने छ ।

जिल्ला अदालत कपिलवस्तुले चैत २० गते न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । श्रीमती आरती गिरी रावलले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गराउनु भएको थियो ।

न्यायाधीश भएपछि गिरी गत असारमा जिल्लामा पहिलो पटक पदस्थापन हुनुभएको थियो । गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषदमा सरुवा भएको हो । उहाँकी कान्छी श्रीमती लामो समयदेखि वैवाहिक बलात्कारको आरोप लगाएर श्रीमान गिरीविरुद्ध आन्दोलित हुनुहुन्थ्यो ।

गिरीविरुद्ध कान्छी श्रीमतीले बन्धक बनाएर आफूलाई कुटपिट, यौन शोषण र हिंसा गरेको आरोप लगाउनु भएको छ । कानुनअनुसार कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गत मंसिरमै उहाँले जाहेरी निवेदन दिनुभएको थियो ।

श्रीमतीले आफूविरुद्ध जाहेरी दिएसँगै गिरीले पनि पत्नीले पैसा चोरेको आरोप लगाउँदै कारबाहीका लागि जिल्ला प्रहरीमा उजुरी दिनुभएको थियो । दुवै निवेदन लिएर प्रारम्भिक अनुसन्धान गर्दै रहेको प्रहरीले जनाउँदै आएको थियो ।

जिल्लामा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि श्रीमतीले सञ्चारमाध्यम गुहार्दै अदालत अगाडि प्रदर्शन गर्नेदेखि सरोकारवाला निकायमा पुगेर दबाब सिर्जना गर्दै आउनु भएको थियो ।