जनता टाइम्स

२९ चैत्र २०७९, बुधबार १५:४०

प्रधानन्यायाधीश नियुक्त गर्न मिति तोकेरै नेपाल बारले दियो अल्टिमेटम


काठमाडौं, चैत २९ । नेपाल बार एशोसिएसनले तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न माग गर्दै समयसीमा तोकेको छ ।

प्रधानमन्त्री र सत्तारुढ दलहरु न्यायालयमाथि तरवार झुण्ड्याएर आफ्नो स्वार्थपूर्तिको थलो बनाउने र कामूकै भरमा न्यायालय चलाउने षडयन्त्रमा लागेपछि बारले मिति तोकर अल्टिमेटम दिएको हो । नेपाल बारले प्रधानन्यायाधीश नियुक्तिको लागि दस दिनको अल्टिमेटम दिएको छ ।

बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले दस दिनभित्र प्रधानन्यायधीश नियुक्त नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । उहाँले पेशी पूर्णरूपमा स्वचालित प्रणालीबाट हुनुपर्ने मागसमेत गर्नुभयो । घिमिरेले कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेयको दृष्टिले हेरेको आरोप पनि लगाउनु भयो ।

‘दिनानुदिन न्यायपालिकामाथि हेपाहा प्रवृत्ति कायम राखिएको छ। प्रधानन्यायाधीश नियुक्त नभएको वर्षौं भइसक्यो । पूर्वप्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाइयो । त्यसको सुनुवाई अहिलेसम्म भएन । देशमा न्यायपालिका छैन। राजनीतिज्ञ छैनन्,’ घिमिरेले भन्नुभयो, ’कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेयको दृष्टिकोणले हेर्यो भन्ने बुझेका छौं ।’

उहाँले अहिले पनि न्यायाधीशहरू नियुक्त बाँकी रहेको र न्यायपालिकामा बिसंगती मौलाएको भन्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो । न्यायपालिकामाथि यस्तै हस्तक्षेप रहे टुलुटुलु हेरेर बस्न नसकिने भन्दै उहाँले दस दिनपछि आन्दोलनमा जाने बताउनु भयो ।

’हामी अहिले पनि आन्दोलनमा जान सक्छौं । तर संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्रीजी हुनुहुन्छ । उहाँसँग नभेटी आन्दोलनमा नजाऔं भनेका हौं,’ घिमिरेले भन्नुभयो ।

घिमिरेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै लामो समयदेखि सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालत र जिल्लामा समेत न्यायाधीश खाली रहेको बिषयमा ध्यानाकर्षण गराउने बताउनु भयो ।