काठमाडौं, चैत २९ । नेकपा एमालेका सांसद् ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा भारतमाेह देखिएकाे बताउनुभएकाे छ । बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् गैरेले प्रधानमन्त्री प्रचण्डमा बाेलाएका देशमा नजाने तर नबाेलाएकाे देशमा जान मरिहत्ते गर्ने प्रवृत्ति देखिएकाे बताउनुभयाे ।
उहाँले प्रधानमन्त्री प्रचण्डले आफूले सबैभन्दा पहिला भारतकाे भ्रमण गर्ने बताउनुभएकाे र केही दिन यता सदन र सदनबाहिर पनि यसकाे परिचर्चा भइरहेकाे बताउनुभयाे ।
‘प्रधानमन्त्रीले आफूले सबैभन्दा पहिला भारतको भ्रमण गर्ने भन्नुभएको थियो, केही दिनदेखि सदन र बाहिर पनि यसको चर्चापरिचर्चा छ, भारतले औपचारिक निमन्त्रणा पनि नपठाएको सुनिन्छ, भारत भ्रमण पर्खिएर बोआवो सम्मेलन र अर्को छिमेकी देशको भ्रमण समेत रद्द गरेर प्रधानमन्त्रीले भारतकाे निमन्त्रणा पर्खिराखेकाे कुरा सुन्दा याे भारत भक्ति किन प्रकट भइरहेकाे छ भन्ने उठेकाे छ, अन्य देशकाे निमन्त्रणालाई थाती राखेर निमन्त्रणा नै नगर्ने देशकाे भ्रमण पर्खेर बस्नुकाे औचित्य र आवश्यकता के हो ? भ्रमणबाट हामीले गर्न खाेजेकाे हाे ?’- सांसद् गैरेले प्रश्न गर्नुभयाे ।
यसपटककाे भारत भ्रमणमा नक्सामा समेटिएकाे भूमि फिर्ता लिने लगायत विषयकाे ग्यारेन्टी गरेर जान लाग्नुभएकाे हाे भन्दै उहाँले प्रचण्डलाई प्रश्न पनि गर्नुभयाे । ‘यसपटककाे भारत भ्रमणमा भारतीय सेना कालापानीबाट फिर्ता हुने सुनिश्चितता गरेर उहाँ जाँदै हुनुहन्छ ? कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि नेपालीको हकभोकको सुनिश्चितता हुने कुराकाे ग्यारेन्टी भएकाे छ ? ईपीजी प्रतिवेदन आदानप्रदान गर्ने सुनिश्चितता भएको छ ? वा हाम्राे भूमिसम्बन्धी समस्या-सीमा क्षेत्रमा भएका समस्याकाे सम्बाेधन हुनेवाला छ ?’ सांसद् गैरेकाे प्रश्न छ ।
नेपालमाथि भएका असमान सन्धी र सीमा क्षेत्रमा भएका अतिक्रमण अन्त्य नभएसम्म भारतकाे भ्रमण गर्दैनाैं भनेर नेपाल सरकारले दृढतापूर्वक आफ्ना अडानहरु कायम राख्नुपर्ने बेला भएकाे उहाँले बताउनुभयाे । सांसद् गैरेले प्रश्न गर्नुभयाे – ‘नेपालमाथि भएका असमान सन्धी र सीमा क्षेत्रमा भएका अतिक्रमण अन्त्य नभएसम्म हामी भारतकाे भ्रमण गर्न चाहाँदैनाैं भनेर नेपाल सरकारले दृढतापूर्वक आफ्ना अडानहरु कायम राख्न सक्ने बेला भएन ? हामीसँग त्याे गर्न सक्ने सामार्थ्य छैन ? भक्तिभाव गर्ने आवश्यकता किन छ ? भन्ने प्रश्न उठेकाे छ ।’
सांसद्ले बनाएकाे अपार्टमेन्टले स्थानीयलाई दु:ख दिएकाे र मन्त्री बन्न २ कराेडकाे डिल भएकाे जस्ता भ्रष्टाचारका कैयाैं विषयहरु आइरहेका उहाँले बताउनुभयाे । देशकाे आर्थिक संकटबारे प्रधानमन्त्री, मन्त्री र अर्थमन्त्रीले फरकफरक धारणा राखिरहेकाे र देशमा आर्थिक संकट छ भन्नेमा सिंगाे सदन एक रहेकाे भन्दै उहाँले त्यसकाे समाधानका लागि सदनमा उपस्थित भएर तत्परता देखाउनुपर्नेमा सरकार माैन बसेकाे उहाँले बताउनुभयाे ।













प्रतिक्रिया दिनुहोस्