काठमाडौं, चैत ३० । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्रभावकारी काम गर्न नसकेकाे बताउनुभएकाे छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारकाे प्रभावकारिता साेचेजस्ताे हुन नसकेकाे बताउनुभयाे ।
यद्यपि सरकारले गति लिइरहेकाे दाबी उहाँले गर्नुभयाे । ‘सरकारको प्रभावकारिता जस्तो सोचेको हो त्यस्तो भएन भन्ने हामी सबैलाई लागेको विषय हो, यसका पछाडि केही राजनीतिक कारण छन्, सरकार निर्माणकाे सन्दर्भमा पहिलो गठबन्धन बन्ने, त्यो गठबन्धन भत्किने, अर्को बन्ने, सरकारले पूर्णता पाउन केही समय लाग्ने जस्ता विभिन्न कारणले गर्दा जस्ताे साेचेकाे हाे त्यस्ताे हुने नसकेकाे भन्ने कुरा हामीलाई लागेकै विषय हो तर, सरकारले गतिमा काम गरेकै छ, अगाडि बढेकै छ’- मन्त्री शर्माले भन्नुभयाे ।
कतिपय जनपक्षीय, सेवाप्रवाह, कतिपय नीतिगत कानुनी कुरा, बजेट निर्माणकाे तयारी, सेवाप्रवाह र अर्थतन्त्रका विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेकाे उहाँले बताउनुभयाे ।
सरकार साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्नका लागि अघि बढेको भन्दै मन्त्री शर्माले अहिले गठबन्धन दलहरुबीच कुनै समस्या नभएको बताउनुभयो ।
उहाँले भन्नुभयाे – ‘चाहे सत्तारुढ र चाहे प्रतिपक्षी सांसद्ले संसद्मा सरकारलाई खबरदारी गर्ने कुरालाई अन्यथा रुपमा लिनुहुँदैन, त्यसलाई खबरदारीकै रुपमा लिनुपर्छ, बाहिर गठबन्धन दलबीच समस्या हाे कि संवादहिनता हाे कि भन्ने जुन आशंका छ, त्यस्ताे हाेइन, निरन्तर संवादमा हुनुहुन्छ, छलफलमा हुनुहुन्छ, अस्तिभर्खर हामीले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छाैं ।’













प्रतिक्रिया दिनुहोस्