काठमाडौं, बैशाख १ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने अभियानलाई तिब्रता दिनैपर्ने बेला भएको बताउनुभएकाे छ ।
नयाँ वर्ष २०८० का अवसरमा सबै नेपालीमा शुभकामना सन्देश दिँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने अभियानलाई तिब्रता दिनैपर्ने बेला भएको उल्लेख गर्नुभएको छ ।
सभामुख घिमिरेले याे वर्ष राजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरुरी रहेको उल्लेख गर्नुभएकाे छ । विगतको वर्षको समीक्षा गर्न पनि आवश्यक रहेकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।
सभामुख घिमिरेले नयाँ वर्षले सबै नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचारा र सौहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।
२०७९ मा तीन वटा निर्वाचन सम्पन्न भई मुलुक नयाँ जनप्रतिनिधिको काँधमा आएको उल्लेख गर्दै सभामुख घिमिरेले राजनीतिक रूपमा अघिल्लो वर्ष परिवर्तनको वर्ष भए पनि आर्थिक र पूर्वाधार विकासमा भने उल्लेख्य प्रगति हुन नसकेको लेख्नुभएकाे छ ।
राज्यका तीन अंगमध्ये कानुन निर्माण गर्ने मुख्य थलो संसद् भएकाे उल्लेख गर्दै उहाँले प्रतिनिधि सभाले विधेयकहरूमाथिको छलफल सुरु गरेको जानकारी दिनुभएकाे छ । संसद्लाई अझै प्रभावकारी र गतिशील बनाउन सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि सभामुख घिमिरेले सन्देशमा उल्लेख गर्नुभएकाे छ ।
जनसहभागिता, राजनीतिक सहमति, सहकार्यका आधारमा संसद्ले बनाउने कानूनले आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएकाे छ । जनताको सार्वभौमसत्ता प्रयोग हुने संसद्लाई प्रभावकारी बनाउँदै जनमुखी र प्रगतिशील कानुन निर्माण गर्न नयाँ वर्षबाट प्रेरणा मिलोस् भन्ने कामना समेत सभामुख घिमिरेले गर्नुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्