जनता टाइम्स

१ बैशाख २०८०, शुक्रबार १६:१७

ट्राफिक प्रहरीले संकलन गर्यो एकै बर्ष डेढ अर्व राजस्व


काठमाडौं, बैशाख १ । सवारी नियम पालन नगर्नेहरुबाट एकै बर्ष झण्डै डेढ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । ट्राफिक नियमको पालना नगर्ने झण्डै १९ लाख ४२ हजार सवारीधनीलाई ट्राफिक प्रहरीले गरेको कार्वाहीबाट सो रकम जम्मा भएको हो ।

महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ट्राफिक नियमको पालना नगर्ने १९ लाख ४१ हजार ७५८ सवारीधनीहरूलाई कारबाही गरेको हो । कारबाहीबाट १ अर्ब ४१ करोड ८९ लाख २६ हजार जरिवाना राजस्व असुली भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारीचालकले तोकिएका नियम पालना गर्नुपर्छ । ट्राफिक पदमा जनशक्ति अपुग भएका कारण अन्यत्रबाट १ हजार ३३५ जना काजमा ल्याएको कारण ३ हजार ९३५ जना ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापन कार्यमा संलग्न रहेका छन् । महालेखा प्रतिवेदन अनुसार गत वर्षको तुलनामा सवारी नियमको पालना नगर्नेको प्रतिशत १८.३७ ले बढेको छ ।

यो वर्ष सवारी नियम पालना नगर्ने मादक पदार्थ सेवकलाई ५४ हजार ८८७ पटक तीव्रगतिमा सवारीसाधन चलाउनेलाई २६ हजार ३५९ पटक लेन अनुशासन पालना नगर्नेलाई १३ हजार ८९३ पटक कारबाही भएको छ । सवारीसाधनको प्रकृतिअनुसार मोटरसाइकल चालकले ६ लाख २२ हजार ४५५, ट्रक÷ट्याकंर चालकले ५ लाख ७ हजार ४९५ कार, जीप, भ्यान चालकले ४ लाख १९ हजार ९१५ पटक सवारी नियमको पालना गरेका छैनन ।

सवारी नियमको पालनामा कमजोरी रहेको र नियमको पालना नहुँदा सडक दुर्घटनामा समेत वृद्धि हुँदै आएको छ ।