जनता टाइम्स

१ बैशाख २०८०, शुक्रबार १६:३४

माओवादीमा अहिलेसम्म नेताको निकट मात्रै नेता बन्ने गरेको प्रचण्डको खुलासा


काठमाडौं, बैशाख १ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले अव जनता र कार्यकर्ताको मन जित्ने व्यक्ति नै नेता बन्ने बताउनुभयो । उहाँको यो भनाईले माओवादीमा अहिलेसम्म नेताका निकट मात्रै नेता बनेको खुलासा भएको छ ।

’अब जनता र कार्यकर्ता तिर फर्केर मात्र पार्टी बन्छ, नेताहरुबाट समर्थन लिएर र सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नै पर्ने भएको छ, पार्टी हामी सबै मिलेर बनाउनु नै छ, पार्टी बनाउने राजनीति, विचार र संस्कृतिमा गयौं भने पार्टी बन्न ढिलो हुन्न,’ प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया लगायत समग्र मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताउनुभयो । अहिले माओवादीको नेतृत्वको सरकार रहेका कारण परिवर्तनहरु उल्टिन नसक्ने जस्तो लागेपनि स्थिति सहज भने नरहेको उहाँले बताउनुभयो । समयमा नै जिम्मेवारी बोध नगर्ने र संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन दिँदै उहाँले यस कार्यविधिको व्यवहारिक कार्यान्वयन हुनुपर्ने बताउनुभयो । प्रचण्डले भन्नुभयो – ’सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधि अनुसार आजबाट भेटघाटको सुरुआत भएको छ, सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।’

जतिसुकै चुनौती भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने संकल्प आफूहरुले लिएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,  ’लेखौं, बोलौं र प्रतिक्रियावादी प्रतिक्रान्तिकारीको प्रतिरोध गरौं, हामी सबैले आफ्नो भूमिका पूरा ग¥यौं भने हाम्रो तागत ठूलो छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व आफूले लिएपछि धेरै काम गर्न प्रयास गरिएको, केही सफल भएका र केही सफल हुने क्रममा रहेका दाबी समेत गर्नुभयो । ’पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइँमा उठाउन जरुरी छ, सरकारलाई जनताको आशा अपेक्षा अनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौतीर जिम्मेवारी हाम्रो काँधमा छ,’ उहाँले भन्नुभयो ।