जनता टाइम्स

२ बैशाख २०८०, शनिबार १४:५८

बिदेशी हस्तक्षेप बढेर राष्ट्रियता नै संकटमा परेको मुख्यमन्त्री गिरीको ठोकुवा


बुटवल, बैशाख २ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राष्ट्रियताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औं साधारणसभाको उदघाटन गर्दै मुख्यमन्त्री गिरीले यस्तो सुझाव दिनुभएको हो ।

उहाँले नेपाली मिडिया र पत्रकारहरुले राष्ट्रियताको पक्षमा जसरी कलम चलाउनुपर्ने हो त्यो हुन नसकेको बताउनु भयो । मुलुकमा बिदेशी हस्तक्षेप बढेको र राष्ट्रियता संकटमा परेको औंल्याउँदै मुख्यमन्त्री गिरीले राष्ट्रियताको पक्षमा सशक्त आवाज उठाउन आग्रह गर्नुभएको हो । नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको मुख्यमन्त्री गिरीले गुनासो गर्नुभयो ।

मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनु पर्ने अन्यथा देशको राष्ट्रियता गुम्ने खतरा रहेको उहाँको भनाई थियो ।मुख्यमन्त्री गिरीले अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध पनि कलम चलाउन आवश्यक रहेको बताउनु भयो । बामपन्थी दलहरु विभाजित हुँदा राष्ट्रियता कमजोर भएको र केही दलहरु वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थका लागि काम गरेको दावी पनि उहाँले गर्नुभयो ।

उहाँले संघीयता काम छैन भन्ने आवाज उठ्न थालेको भन्दै २ कार्यकाल पूरा नहुदै खराब भन्न नमिल्ने बताउनु भयो । पत्रकारको पेशागत हक र सुरक्षाका लागि राज्यले ध्यान दिनुपर्ने पनि उहाँको भनाई थियो । पत्रकारले सत्य तथ्यमा टेकेर मात्रै समाचार लेख्न आग्रह गर्दै तथ्यहीन समाचार लेख्न नहुने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, प्रेस चौतारी केन्द्रीय सचिव प्रदीप आचार्य, एमाले नेताहरु मोहन चापागाई, हितराज पन्थी, प्रेस चौतारीका अग्रज नेताहरु डिआर घिमिरे, शेरबहादुर केसी, इन्दिर अर्याल, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अमृत गिरी, प्रदेश महासचिव निरु गौतम, जिल्ला उपाध्यक्ष भगवती पाण्डे लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

साधारणसभामा जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले वार्षिक प्रतिवेदन, सचिव केशव भण्डारीले संगठनात्मक र कोषाध्यक्ष दिनेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।सो अवसरमा प्रेस चौतारीका केन्द्रीय सदस्य टि.आर. शर्माले जिल्ला शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा २५ हजार ५ सय २५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।