चितवन, चैत २ । यही वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन–२ का एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले मतदाताको गुनासो सुन्दै घरदैलोलाई तीव्र बनाउनु भएको छ । न्यौपानेले चितवनको क्षेत्र नम्बर २ मा पर्ने प्रत्येक गाउँमा पुगेर स्थानीय मतदाताको गुनासो सुन्ने गर्नुभएको हो ।
न्यौपानेले आज भरतपुर महानगरपालिकाको वडा नम्बर २९ र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ मा घरदैलो गर्नुभयो । उम्मेदवार न्यौपानेले घरदैलोका क्रममा मतदाताहरुले गरेको गुनासो सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । अघिल्लो पटक भएको गल्तीलाई सुधार्नका लागि पनि यो उपनिर्वाचन महत्वपूर्ण हुने न्यौपानेले बताउनु भयो ।
स्थानीयले न्यौपानेसँग खानेपानी, सडक, स्वास्थ्य र शिक्षाका बारेमा गुनासा गरेका थिए । न्यौपानेले यसअघि एमालेबाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले चितवन २ मा धेरै कामहरु गरेको उल्लेख गर्नुभयो । यस क्षेत्रमा बाँकी रहेका स्वास्थ्य, शिक्षा, सडक, खानेपानीलगायत जनताको समस्या सम्बोधन गर्न आफू हरदम तयार रहेको न्यौपानेले बताउनु भयो ।
आफू यही चितवनमा पढेको र बढेको उल्लेख गर्दै चितवनका जनताको गुनासाका बारेमा जानकार भएकाले यहाँको समस्या समाधान गर्नका लागि खरो रुपमा उत्रिने न्यौपानेले बताउनु भयो । निर्वाचित भएर गएपछि आफू आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर आउने र मतदाताको गुनासो र समस्या समाधानमा प्रतिबद्ध रहने न्यौपानेले बताउनु भयो ।
यस क्षेत्रका मतदाताहरुले न्यौपानेलाई स्वागत गर्दै अबिर र टीका लगाएर जितका लागि आशिर्वाद एवं शुभकामना दिएका छन् । मतदाताहरुले मंसिर ४ मा आफूहरु लहलहैमा लागेको तर यसपटक त्यसो नगरी जिताउने भन्दै शुभकामना दिएका हुन ।
आजको घरदैलोका क्रममा न्यौपानेसँगै एमाले नेताहरु कृष्णभक्त पोखरेल, नारायणप्रसाद अधिकारी, श्रीप्रसाद दवाडी, विद्यार्थी नेताहरु तथा स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भोलि आइतबार न्यौपानेले कालिका नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्ने कार्यक्रम तय गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्