जनता टाइम्स

२ बैशाख २०८०, शनिबार १८:२५

राष्ट्रपति फेरिएसँगै फेरियो शीतलनिवास, अव सुकिला-मुकिलाबाहेक जनताले पाउने छैनन प्रवेश


काठमाडौं, बैशाख २ । राष्ट्रपति फेरिएसँगै नेपाली जनताको आसाको धरोहर शीतलनिवासको परम्परा पनि फेरिएको छ । निवर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारीको पालामा दुर्गम क्षेत्रबाट आएका ब्यक्तिहरुलाई समेत सहज रुपमा प्रवेश दिन लगाएको परम्परा रामचन्द्र पौडेल राष्ट्रपति हुनुभएपछि तोडनु भएको हो ।

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा पदक पाउनु भएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले शीतलनिवासको असली कुरा खोलिदिनु भएको हो । छोरीको पदक पाएको दृश्य हेर्न गोरखाबाट आउनु भएका बुबालाई राष्ट्रपति भवन छिर्न निषेध गरिएको कुरा उहाँले खोल्नुभएको छ ।

शीतलनिवासमा नेपाली कांग्रेस निकट मानिएका अन्य पदकधारी भने परिवारका चार जना सदस्यसम्म लिएर शीतलनिवास छिरेका थिए । तर छोरीले पदक लिएको हेर्न चाहना बोकेर आउनु भएका श्रेष्ठलाई अपमानपुर्वक प्रवेश निषेध गरियो । गोर्खा राष्ट्रपति पौडेलको तनहुँसँगै जोडिएको जिल्ला हो ।

आफूले बुबालाई गेट बाहिर राखेर पदक पाएकोमा मन अमिलो भएको श्रेष्ठले आफ्नो सामाजिक संजालमा लेख्नुभएको छ ।

आठ हजारमाथिका सगरमाथासहित सात हिमाल आरोहण गर्नुभएकी श्रेष्ठले लेख्नुभएको छ, ‘बुबालाई राष्ट्रपति र राष्ट्रपति भवन हेर्न निकै ठूलो इच्छा थियो। यसैको लागि भनेर आरुघाट, गोरखाबाट आउनु भयो तर मसँगै जानु भएको बुबालाई गेटबाट भित्र जान दिएन र निराश हुँदै फर्किनुभयो। यता पुरस्कार पाउँदा पनि मेरो मन भने अमिलो थियो ।’

आरोही श्रेष्ठको मन अमिलो भएको यो कुराले शीतलनिवासमा अव कांग्रेस निकट र सुकिला मुकिलाले मात्रै प्रवेश पाउने आम नागरिकले प्रवेश नपाउने तथ्य उजागर गरिदिएको छ । आरोही श्रेष्ठले खोलेको तथ्यले शीतलनिवासबाटै राष्ट्रपतिका प्रेस सल्लाहकार टीमले लेखेर पठाएको राष्ट्रपति मञ्चबाट ओर्लिएर भुईंमा आएरु पदक बाँडनुभयो भन्ने सरचारको धज्जी उडाएको छ ।