चितवन, बैशाख ३ । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन क्षेत्र नम्बर २ मा गत मंसिर ४ कै जस्तो परीणाम आए फेरि उपचुनाव हुनसक्ने तथ्य औल्याउनु भएको छ ।
गत मंसिर ४ को संसदीय निर्वाचन चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी हुनुभएको थियो । तर लामिछाने नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ । रविकै कारण हुन लागेको उपनिर्वाचनमा पुनः आफै उम्मेदवार हुनुहुन्छ ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार हुनुहुन्छ । अहिले चुनावी अभियान जारी रहँदा तीनै जना उम्मेदवार मतदाता आफूतिर आकर्षित गर्न लागिपरेका छन । चुनाव प्रचारका लागि चितवन आउनु भएका एमाले सचिव भट्टराईले प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताउनु भयो ।
‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए दोस्रोपटक उपचुनाव हुन्छ,’ सचिव भट्टराईले भन्नुभयो, ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो नि ।’

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका एमाले सचिव भट्टराईले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्ने बताउनु भयो । चितवन २ मा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न पनि भट्टराईले आग्रह गर्नुभयो । रवि लामिछाने छोटो समयमा नै टेष्टेट भइसकेकाले कम्युनिष्ट एकता र सहकार्यका लागि पनि न्यौपानेलाई सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
सचिव भराईले रवि लामिछानेका समर्थकहरु असहिष्णु हुँदै गएको भन्दै यस्ता प्रवृतिको काँधमा चढेर हिँडेको ब्यक्तिबाट कस्तो मुलुक र समाजको परिकल्पना गर्ने भन्दै प्रश्न गर्नुभयो । ‘यस्तो प्रवृत्ति र क्रियाकलापसँग एमालेले प्रतिस्पर्धा गर्ने भन्ने कुरा हुँदैन, यस्तोमा रमाउन हामीलाई सुहाउँछ ?’ भराईको प्रश्न थियो ।













प्रतिक्रिया दिनुहोस्