जनता टाइम्स

३ बैशाख २०८०, आईतवार १७:३८

पार्टी काममा फर्कन एमाले नेता भीम रावल तयार, जुट्यो यस्तो सहमति


काठमाडौं, बैशाख ३ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल नेतृत्वको समितिले असन्तुष्ट नेता भीम रावलसँग गरेको छलफल सकारात्मक बिन्दुमा पुगेको छ ।

महाधिवेशनपछि कुनै पनि जिम्मेवारी नलिनुभएका नेता रावलले आफू पार्टीको जिम्मेवारीमा फर्कन चाहेको बताउनु भएपछि बार्ता सकारात्मकतर्फ अघि बढेको हो । एमाले उपाध्यक्ष बिष्णु पौडेल नेतृत्वको टोलीले आज पार्टी केन्द्रीय कार्यालयमै नेतारावलसँग लामो छलफल गरेको छ । संवाद सकारात्मक बनेसँगै लामो समयदेखि पार्टीको जिम्मेवारी भन्दा बाहिर रहनु भएका एमालेका नेता रावललाई जिम्मेवारी दिने प्रक्रिया थालिएको छ ।

गत चैत १८ गते बसेको एमाले सचिवालय बैठकले रावलसँग संवाद गर्न उपाध्यक्ष पौडेलको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको थियो । टोलीमा सुदुरपश्चिम इञ्चार्ज रहनुभएका सचिव लेखराज भट्ट र सहइञ्चार्ज रहनुभएका स्थायी कमिटी सदस्य कर्ण थापा सदस्य हुनुहुन्छ । रावलसँग भएको आजको छलफलमा तीनै जना नेता सहभागी हुनुभएको हो ।

रावलसँग आज पहिलो चरणको संवाद भएको हो । पार्टीको मिसन ग्रास रुट अभियानको सुदूरपश्चिम कमान्डर रहेका पौडेल सुदूरपश्चिममा जाँदा रावलसँग टकराव उत्पन्न भएको थियो। त्यसपछि एमालेले उहाँलाई पार्टीको जिम्मेवारी ल्याउन संवाद सुरु गर्ने निर्णय गरेको थियो।

‘संवाद सकारात्मक रुपमा सुरु भएको छ, पार्टीका तर्फबाट उहाँलाई के जिम्मेवारी दिने भन्ने बारेमा पार्टीले निर्णय गर्नेछ तर अहिले पार्टीको विविध विषयमा छलफल भएको छ, उहाँ पार्टीकै पक्षमा सकारात्मक हुनुहुन्छ’, छलफलपछि समितिका सदस्य कर्ण थापाले भन्नुभयो ।
दसौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिनु भएका रावल केन्द्रीय सदस्य बन्न अस्वीकार गरेपछि पार्टीको जिम्मेवारीबाट बाहिरिनु भएको थियो ।

बार्ता टोलीको सदस्य थापाले छिट्टै अर्काे चरणको छलफल गरी स्पष्ट खाका तय गरिने बताउनु भयो । ‘पार्टीबाट बाहिर जाने उहाँको पनि मन छैन, जाने भए पहिला नै गइसक्नु हुन्थ्यो,’ थापाले भन्नुभयो, ‘अहिले पार्टीभित्र भएका केही विषयमा असमझदारी जस्तो देखिएको हो त्यसमा दुवैले मनन गर्ने र जिम्मेवारी लिने कुरा सकारात्मक रुपमा अघि बढेको छ, केही दिनमा अर्को संवाद हुनेछ ।’