जनता टाइम्स

४ बैशाख २०८०, सोमबार १९:०९

नीलोआकास सहकारीको बदमासी छताछुल्ल, घरजग्गादेखि शेयर कारोवारतिर लाग्दा बचतकर्ताले पाएनन पैसा


काठमाडौं, बैशाख ४ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ गैरीगाउँस्थित निलो आकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि ठगी धन्दा चलाउँदै आएको तथ्य खुलेको छ ।

सञ्चालकको बदमासीको कारण बचतकर्ताहरुले मुद्धती खातामा गरेको बचत निलो आकाश सहकारीले फिर्ता गर्न समेत नसकेको पाइएको हो । एक बचतकर्ताकाले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार सो सहकारीले अहिले ब्याज समेत दिन नसकेको अवस्था छ ।

‘पैसा फिर्ता पाइन्छ कि भनेर दिनहुँ नीलो आकाश सहकारी धाइरहेका छौं तर कसैले पनि पैसा पाइएको छैन,’ अर्का बचतकर्ताले पीडा पोखे ।
२०६४ सालमा दर्ता भएको यस संस्थामा बचत गर्ने अधिकांश सरकारी कर्मचारी र व्यापार ब्यवसाय गर्नेहरु रहेका छन । बानेश्वर, तीनकुने, शान्तिनगर, पुरानो बानेश्वर, एअरर्पोट, सिनामंगललगायतका क्षेत्रका कर्मचारी, व्यापारी र स्थानीय बासिन्दाहरुले नीलो आकाशमा पैसा जम्मा गरेको छन ।

नीलो आकाशका अध्यक्ष निमनाथ फूँयाल काठमाडौंकै स्थायी बासिन्दा भएकै कारणले बचतकर्ताहरु उहाँको विश्वासमा परेर रकम जम्मा गरेको तर अहिले बिचल्लिमा पर्ने अवस्था आएको हो । नीलो आकाशको उपाध्यक्ष पुरन केसी गजुरेल र सचिव गणेशप्रसाद अधिकारी पनि काठमाडौंकै स्थायी बासिन्दा हुनुहुन्छ ।

यस्तै सञ्चालक समिति सदस्यहरुमा हिराकाजी बस्नेत, नारायण श्रेष्ठ, भोजराज खडका, सुमित्रा पण्डित क्षेत्री, चेतप्रसाद गौतम र बिमला खडका रहनुभएको छ । अध्यक्ष र सचिवले सञ्चालक समिति सदस्यको समेत आँखा छलेर जे मन लाग्यो त्यही काम गरी सहकारीलाई दुहुनो गाई र बचतकर्तालाई उल्लु बनाउने काम गरिरहेका हुन ।

बानेश्वर, कोटेश्वर, सिनामंगल बसोबास गर्ने धेरैको बचत नीलो आकाशमा छ । यी तीन सहकारी सञ्चालक काठमाडौंका स्थानीय भएका कारण बचतकर्ताहरुले विश्वास गरी पैसा जम्मा गरेका हुन । ‘नीलो आकाशमा बचत गरेको रकम पर्दाभित्र बसेर मीटरब्याजमा लगानी गर्ने काम भयो, तीन जना मिलेर हामीमाथि धोका दिने काम भयो, अव त संस्था नै डुब्छ कि भन्ने लागेको छ,’ अर्का बचतकर्ताले गुनासो गरे ।

यो सहकारीले पनि मिटर ब्याजमा पैसा लगाउने गरेको उनीहरुको आरोप छ । एक लाखको मासिक ७ हजारदेखि २५ हजार रुपैयाँसम्म ब्याजमा पैसा दिने गरेको उनीहरुको भनाई छ । बचतकर्ताले ब्याज खान जम्मा गरेको रकम नीलो आकाशले व्यापारीलाई खटाएर आवश्यक परेकालाई मीटरब्याजमा लगाउन दिने गरिन्छ । बीचमा बसेर व्यापारीले पनि दलाली गर्छन । नीलो आकाश र केही बाठाटाठा व्यापारी मोटाइरहेका छन् भने सीधासाधी व्यक्तिहरु दिनदहाडै लुटिएका छन ।

त्यसैगरी, घरजग्गा, थोत्रा गाडि, र सेयरमा पनि नीलो आकाशको थु्रपै लगानी गरेको पाइएको छ । सहकारीले सेयर धितो राखेर कर्जा दिनु स्वाभाविकै हो । तर, नीलो आकाशलेले जम्मा भएको रकमले आफैं सेयर किन्दै, नाफा खाने गरेको छ । जनताको पैसाले सेयर खरिदबिक्री गर्ने अनि आएको नाफा अध्यक्ष, उपाध्यक्ष र सचिव मिलेर खाने गरेको बचतकर्ताको भनाई छ । ‘आफ्नो पैसा लगानी नै नगरीकन नीलो आकाशका अध्यक्ष र सचिवले मज्जाले नाफा कमाइरहेका छन । पुरानो गाडि, घर जग्गामा ठूलो लगानी छ नीलो आकाशको,’ ती बचतकर्तालेभ ने ।

ट्याक्सीमा लगानी नीलो आकाशको लागि भारी परेको छ । नीलो आकाश ट्याक्सीकै कारण चुलुम्मै डुब्ने अवस्थामा पुगेको छ । ट्याक्सीलाई कर्जा दिने बेलामा सहकारीकै अध्यक्ष र सचिवले सेवा शुल्कबाहेक थप बार्गेनिङ गर्दै कर्जा दिएपछि डुब्ने अवस्थामा पुगेको हो । ट्याक्सी धितो राखेर १० लाख रुपैयाँ कर्जा दिएबापत दुवैले राम्रो आर्थिक लाभ लिने गरेका थिए । उता, दुई प्रतिशत सेवाशुल्क पनि लिन्थे । घुस र सेवाशुल्कको प्रलोभनमा अन्धो बनेका अध्यक्ष र सचिवले यताउता केही नहेरी भकाभक ट्याक्सीलाई कर्जा दिए ।

त्यत्रो घुस दिएर कर्जा लिने ट्याक्सी चालकहरु चर्को ब्याज तिर्न नसकेर डुबे । तीन किस्ता नतिर्ने बित्तिकै नीलो आकाशलेले चालक र ट्याक्सी व्यापारीको ट्याक्सी तानेर लग्यो । नीलो आकाशले गाडी तानेर लगेपछि अधिकांश विस्थापित भए । सो सहकारीका अध्यक्ष र सचिवले चर्को घुस खाएर कर्जा दिलाईसीधासाधी ट्याक्सी व्यापारी र चालकलाई सुकुम्बासी बनाइदिएको अरोपसमेत लागेको छ ।

त्यसैगरी घर जग्गामा पनि नीलो आकाशको ठूलो लगानी गरेको छ । अहिले घर जग्गाको कारोबार नभएर मन्दि नै छ । बचतकर्ताहरु सहकारी आफनो पैसा लिन जाँदा घर जग्गाको व्यपार भएपछि दिँउला भन्दै पठाइरहेका छन । पहिला नीलो आकाशका अध्यक्ष र सचिवले घर जग्गामा लगानी गरेर कमाउन कमाए । धेरै जग्गा हुने व्यक्तिहरु त पत्रपत्रिका सूचना ननिकालिकनै पचाइदिए ।

सो सहकारीका सञ्चालकले सहकारीको नियमबिपरित घर जग्गा, गाडि, व्यापारी, र विश्वाससिलो पात्रलाई चेकको भरमा मीटरब्याजमा पैसा लगाउने गरेको पाइएको छ । एक व्यापारी भने अनुसार ‘हामीले बचत गरेर पैसा हामीलाई नै मीटरब्याजमा लगाउँछन । ईमजेन्सी चाहेको खण्डमा त्यो पनि चलाएँ भन्छन । उनले थपे, ‘यस संस्थामा सबै जनाको मिलेमत्तो छ । एकले एउटा कुरा त अर्काले अर्कै कुरा गर्छन । तर, भित्र भित्र सबै मिलेर बचतकर्तालाई उल्लु बनाइरहेका छन ।

सहकारी ऐनमा उल्लेख भएअनुसार ऋण तिर्नका लागि राष्ट्रिय स्तरको पत्रिकामा पहिले ३५ दिने सूचना जारी गर्नुपर्छ । त्यस्तै, धितो लिलाम गर्नुअघि पत्रिकामा ऋणीको तीन पुस्ते र फोटो पत्रिकामा निकाल्नुपर्छ । तर, नीलो आकाशले यी कुनै पनि कानून मानेको छैन । सहकारी ऐनको धज्जी उडाउँदै नीलो आकाशले ३५ दिने सूचना र तीन पुस्ते सार्वजनिक नगरी सम्पत्ति कब्जा गर्ने गरेको हो ।

धितो रोक्का राखेर ऋण लिने बेलैमा ऋणीको मञ्जुरीनाम लिने गरेको समेत पाइएको छ । मञ्जुरी पत्रमा लेखिएको हुन्छ, ‘तीन किस्ता मैले तिरिन भने मेरो धितो लिलाम गर्नुस । म कँही उजुरी गर्दिन ।’ नेपाली कागजमा लेखिएको उक्त मञ्जुरी पत्रमा पहिले नै हस्ताक्षर गर्न लगाइन्छ । त्यस्तै, फोटोकपी पेपरमा दायाँबायाँ ल्याप्चे र हस्ताक्षर गर्न लगाएर राख्ने गरेका छन ।

भोलि ऋण तिर्न सकेन भने नीलो आकाशले त्यहाँ आफ्नो मनगढन्ते कहानी लेखेर ऋणी फसाउने गर्दछन । ल्याप्चे र हस्ताक्षर गरेपछि भोलि ऋणीले मलाई थाहा छैन भन्न पाँउदैन । कर्जा दिने बेलामा पाँचदेखि सात वर्षको अवधि तोकेर दिइन्छ । बर्षैपिच्छे कर्जा नवीकरण गर्न लगाउँछन । एक चोटिमा दुई प्रतिशत नविकरण शुल्क लिने गरेको छ । एक महिनाअघि एक करोड ऋण लिँदा ऋणीले दुई प्रतिशत सेवा शुल्कबापत तिर्छन । एक करोड प्रतिशतमा त घुस मात्रै खुवाउनुपर्छ । त्यस्तै, सेयर पनि भिडाइ हाल्छन । यता, मासिक ब्याज पनि २२ देखि ४२ प्रतिशत तोकिएको छ, त्योपनि मान्छे हेरेर।

किस्तामा लगेर हालिदियो भने जरिवाना, पेनाल्टी लिन पाइएन । त्यसैले जानाजान उसले बचत खातामा पैसा जम्मा गरिदिन्छ । बचत खातामा दुईदेखि तीन प्रतिशत ब्याज दिन्छ । तर, कर्जामा मनलाग्दी असुली गर्ने गरिएको छ । सहकारी विभागका उपरजिष्टार खिमानन्द आर्चाय सहकारीले यस्तो काम गर्न नमिल्ने बताउनु हुन्छ । ‘सहकारीले यसरी सिधासाधा बचतकर्ताहरुलाई लुट्न पाईदैन । सहकारीहरु सहकारी ऐनमा चल्नुपर्छ । तर, पछिल्लो समय सहकारी ऐन कानून नमान्ने सहकारीलाई धेरैलाई सहकारी विभागले कारबाहिमा हालेको छ,’ आचार्यले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘बचतकर्ताहरुले सुरुमा आएर उजुरी दिन आवश्यक छ । जो कोही व्यक्तिको डर धम्कीमा नपरेर उजुरी दिने बित्तिकै सहकारी विभागले छानबिन गर्छ ।’

काठमाडौं महानगर सहकारी विभागका कर्मचारीले उजरी दिए कार्वाही गर्ने बताएका छन । ‘पीडितहरुले पहिला सुरुमा उजुरी दिनुपर्छ, त्यसपछि हामी सहकारी सञ्चालक र पिडित बीच भेट वार्ता गराउँछौं। तर, उजुरी दिने पिडित निकै पीडित हो भने सुरुमै हामी सञ्चालकलाई प्रहरीको पठाउँछौं,’ महानगर सहकारी बिभागका कर्मचारी भन्छन । अहिलेसम्म हामीले ६० वटा सहकारीलाई प्रहरीकोमा पठाईसकेका पनि जनाएको छ ।