जनता टाइम्स

५ बैशाख २०८०, मंगलवार १४:२६

बिमा कम्पनीलाई पुँजी वृद्धि गर्न असारसम्म समय थप


काठमाडौं, ५ वैशाख । नेपाल बिमा प्राधिकरणले पुँजी नपुर्याउने बिमा कम्पनीहरुका लागि समय थप गर्ने भएको छ । आइतबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्न असार मसान्तसम्मको समय थप गरेको हो । प्राधिकरणका अनुसार तोकिएको न्यूनतम पुँजी नपुर्याउने कम्पनीहरुलाई अवसरको रुपमा ३ महिना समय थप गरिनेछ ।

न्यूनतम ५ अर्ब रुपैयाँ जीवन बिमा कम्पनीलाई र साढे दुई अर्ब अर्थात् २ अर्ब ५० करोड रुपैयाँ निर्जीवन बिमा कम्पनीलाई पुँजी तोकिएको थियो । सो अनुसार चैत मसान्तसम्म ४ वटा कम्पनीले मात्रै पुँजी पुर्याइसकेका छन् । प्राधिकरणले बिमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्ममा पुँजी पुर्याउने निर्देशन दिएको थियो ।

तर, उक्त अवधिसम्ममा केहि बिमा कम्पनीहरुले पुँजी पुर्याउने नसकेसँगै प्राधिकरणले यो अवसर प्रदान गरेको हो । त्यस्तै प्राधिकरणले हकप्रद पनि जारी गर्न थालेको छ । बिमा प्राधिकरणका अनुसार मर्जरमा जाँदा पनि पुँजी पुर्याउने प्रयास गर्दा पनि बिमा कम्पनीहरुको पुँजी पुगेन भने अधिकतम ३३ प्रतिशत सम्म हकप्रद सेयर जारी गर्न दिने योजना रहेको जनाएको छ ।