सुर्खेत, बैशाख ५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताको मन जित्ने नभएर कार्यकर्ताको मन जितेर एमालेलाई बलियो बनाउने काममा लाग्न निर्देशन दिनुभएको छ ।
कर्णाली राजधानी सुर्खेत वीरेन्द्रनगरमा एमाले संगठन सुदृढीकरण तथा विस्तार मिसन ग्रासरुट अभियानअन्तर्गत बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो निर्देशन दिनुभएको हो ।
‘अव पार्टीका नेताको मन जित्ने नभएर कार्यकर्ताको मन जितेर एमालेलाई बलियो बनाएर अगाडि बढ्नुपर्छ, कार्यकर्ताको मन जित्न सक्ने मात्रै नेता हुन्छ,’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले वर्तमान सत्ता गठबन्धन पूर्णरुपमा असफल भएको तथ्य पनि राख्नुभयो । १० दलीय गठबन्धन स्वार्थमा आधारित भएको र पूर्णरुपमा असफल बनिसकेको उहाँको भनाई छ ।
सम्बोधनको क्रममा उहाँले विगतमा १५ महिनामा पाँच दलीय गठबन्धनले गतिविधिले मुलकलाई आर्थिक संकट ग्रस्त अवस्थामा पुर्याएको तथ्य सुनाउनु भयो । ‘हामी वर्तमान स्थानीय चुनावमा गठबन्धनका कारण सोचेको जस्तो परिमाण प्राप्त गर्न सकेनौं । नेपाली कांग्रेसलाई भनेको थियौं निर्वाचनमा एक्ला एक्लै लाग्यौं भनेर तर मानेनन । यदि एक्लाएक्लै चुनावमा भिडेको भए अहिलेको भन्दा दोब्बर मत प्राप्त गर्ने थियौं,’ महासचिव पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन धेरै लामो भविष्य नभएको र आफैं नै संकटमा रहेको पनि बताउनु भयो । ‘मुलक अहिले आर्थिक संकटमा गुज्रिएको छ । यदि एमालेले नेतृत्व गर्न पायौं भने यी कुराहरु समाधान भएर जाने छन,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई धोका दिएको नभई आफैंलाई धोका र माओवादी आन्दोलनलाई पनि नराम्रोसँग धोका दिएको पनि बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्