जनता टाइम्स

८ भाद्र २०७६, आईतवार १३:५४

क्यान्सरपीडितको उपचारमा सहयोग गर्न अपिल


भद्रपुर, भदौ ८

क्यान्सरको उपचारमा रु ७० लाख गुमाएका झापा कनकाई नगरपालिका–३ का ५६ वर्षीय चानक उप्रेतीलाई बचाउन उहाँको परिवारले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेको छ । नेपाल बैंक लिमिटेड सुरुङ्गामा नासु तहमा कार्यरत उप्रेतीले विसं २०७२ मा जागिरबाट अवकाश लिनुभएको थियो । अवकाशप्राप्त गरेको अर्को वर्षदेखि उहाँलाई क्यान्सर लागेको थियो ।

काठमाडौँको त्रिवि शिक्षण अस्पतालदेखि भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालसम्मको उपचार क्रममा कर्मचारी सञ्चय कोषलगायत जागिरको अवकाशपछि प्राप्त भएको विभिन्न सुविधावापतको रु ४० लाख सबै खर्च भइसकेको उहाँकी पत्नी अम्बिकादेवी ओलीले बताउनुभयो ।

उपचारका लागि आफन्तसँग सापटी र सहयोग लिएको रु ३० लाखसमेत खर्च भइसकेको छ । “३० वर्ष जागिर गरेर कमाउनुभएको सबै सम्पत्ति उपचारमा सकियो”, बिरामी पतिको उपचार खर्च जुटाउन सहयोगको आह्वान गर्दै अम्बिकादेवी भन्नुहुन्छ, “आफन्त र साथीभाइसँग सापटी पनि लिइसकियो, अब चन्दा उठाउनुबाहेक हामीसँग अर्को विकल्प छैन ।”

भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गरेर घर फर्किनुभएको उप्रेती एक छोरा र पत्नीसँग हाल घरमै रहनुभएको छ । उहाँले अब रु २० लाख उपचारमा आवश्यक भएको चिकित्सकले बताएको जानकारी दिँदै त्यो रकम जुटाउने विषयमा चिन्ता व्यक्त गर्नुभयो । पारिवारिक स्रोतका अनुसार चिकित्सकले खाद्य नलीको क्यान्सर निर्मूल गर्न केमो पद्धतिबाट महङ्गो उपचार जारी राख्नुपर्ने बताएका छन् ।

“उहाँले स्वस्थ र जवान रहुञ्जेल राष्ट्रसेवक भएर देशको सेवा गर्नुभयो, क्यान्सरसँग लडिरहनुभएको यो अवस्थामा अब उहाँलाई बचाउनका लागि आर्थिक सहयोग गरिदिनु हुन देश–विदेशमा भएका सम्पूर्ण नेपालीमा अपिल गर्दछु”, अम्बिकादेवीले आफ्नो अपिलमा भन्नुभएको छ ।