जनता टाइम्स

६ बैशाख २०८०, बुधबार १६:२०

राष्ट्रपतिको भारतमै उपचार मोहले नेपाली चिकित्सक लज्जित


काठमाडौं, बैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार गराउने मोहले नेपाली चिकित्सकले निकै लज्जित महसुस गर्नुपरेको छ । नेपालमै सहज ढंगबाट हुने उपचार स्वदेशमा नगराई एकाएक भारत जानुभएपछि नेपाली चिकित्सकहरुले लज्जाबोध गर्नुपरेको हो ।

राष्ट्रपति पौडेल मंगलवार साँझ अचानक बेहोस हुनुभएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । त्रिबि शिक्षण अस्पतालमा भर्ना भएलगत्तै उहाँको परिवारले नेपालमा होइन भारतमा उपचार गराउनु पर्ने प्रस्ताव राखेका थिए । त्रिबि अस्पताल स्रोतका अनुसार चिकित्सकहरुल सहज ढंगबाट नेपालमै उपचार हुने बताए पनि हामी भारतमै जाने भनेर जिद्धि गरी राज्यको ढुकुटी रित्याएर भारत जाने काम भएको हो ।

‘राष्ट्रपतिले नेपालमै हुने सामान्य उपचारमा पनि नेपाली चिकित्सकमाथि बिश्वास नगरेर मुलुकप्रति नै घात गर्ने काम भएको छ, नेपालको स्वास्थ्य क्षेत्रमाथि नै गम्भीर प्रश्न उठाउने गरी भएको यो निर्णय अत्यन्तै गलत छ । परिवारको चाहना वा बिरामीको चाहनाअनुसार बिदेशमा उपचार गर्न जाने काम आपत्तिजनक हो,’ एक चिकित्सकले जनताटाइम्स डटकमसँग भने ।

राष्ट्रपति पौडेल आजै एअर एम्बुलेन्समार्फत भारतको राजधानी नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना हुनुभएको छ । राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको छ ।

राष्ट्रपति पौडेललाई बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरी अस्पताल लग्नुभएको हो । उहाँलाई उच्च सुरक्षासहित एम्स पुर्याइएको थियो ।

राष्ट्रपति पौडेलका छोरा चिन्तन पौडेलका अनुसार उहाँको उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहनु भएको छ । चिकित्सकहरूले राष्ट्रपतिको नेपालमा गरिएका लगभग सबै परीक्षणहरु पुनः दोहोर्याउनुका साथै केही थप परीक्षण गरिने जानकारी दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट आज बिहान भारत लगिएको हो । राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको विमानलाई एयर एम्बुलेन्समा परिणत गरी नयाँदिल्ली लगिएको थियो ।

छातीमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सकको निगरानीमा रहनुभएका राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपमा अस्पताल जानुभएको थियो ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार त्यही दिन छातीमा जमेको पानी निकालेर परीक्षण गरिएको थियो । प्रारम्भिक परीक्षणमा संक्रमणबाहेक अन्य अवस्था सामान्य देखिएको थियो । मंगलबार भने राष्ट्रपतिलाई रिंगटा लागेर बेहोस जस्तै भएपछि पुनः अस्पताल भर्ना गरेर चिकित्सकको निगरानीमा राखिएको थियो ।