जनता टाइम्स

६ बैशाख २०८०, बुधबार २०:०६

कर्णालीका मुख्यमन्त्रीले मानेनन कांग्रेस संसदीय दलको सिफारिश, मन्त्रीको शपथ रोकियो


सुर्खेत, बैशाख ६ । कर्णाली प्रदेश सरकार बिस्तारका विषयमा गठबन्धन दलबीच खटपट सुरु भएको छ। प्रदेश सरकारको बिस्तारका लागि संघीय सरकारको गठबन्धनअनुसार नै कर्णालीमा नेपाली कांग्रेसको प्रदेश कार्यसम्पादन समिति र प्रदेश संसदीय दलको बैठक बसी सरकारमा सहभागी हुने मंगलबार निर्णय गरेको थियो।

पाटीको प्रदेश कार्यसम्पादन समितिको निर्णयकै आधारमा प्रदेश संसदिय दलको बैठकबाट नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम सिफारिस गर्नुभएको थियो । जसअनुसार माओवादी नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री खड्गप्रसाद पोख्रेल (सुर्खेत), आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह (जाजरकोट) र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री कृष्ण बिसी (दैलेख)को नाम सिफारिस गरिएको थियो।

मंगलबार दिउसो कांग्रेस संसदीय दलको बैठकको निर्णयअनुसार मन्त्रीको नाम सिफारिस गरिएको भए पनि प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रीहरुलाई नियुक्ति दिनुभएन ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार नै प्रदेश सरकारमा कांग्रेसको तर्फबाट सहभागी हुने मन्त्रीहरुको नाम सिफारिस भइसकेको बताउनु भयो । ‘मुख्यमन्त्रीज्यूले कहिले नियुक्ति गर्नुहुन्छ। त्यो उहाँको कुरा हो। कांग्रेसले त मंगलबार नै मन्त्रीको नाम सिफारिस गरिसकेको छ। तर नाम सिफारिस भएको २४ घण्टा बितिसक्दा पनि नियुक्ति नहुनु दुःखद कुरा हो,’ शाहीले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माले बाहाना बनाएर मन्त्री नियुक्ति ढिलाइ गरिरहेको कांग्रेसको आरोप छ।