जनता टाइम्स

६ बैशाख २०८०, बुधबार २०:११

रास्वपाको नाटक छताछुल्ल, सांसद ढाकाकुमारमाथि कार्वाही पुष्टि हुने कागजात अझै बुझाएन


काठमाडौं, बैशाख ६ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई गरिएको कारबाही पुष्टि हुने कागजात अझै संसद् सचिवालयलाई बुझाएको छैन । संसद् सचिवालयले यो साताको सुरुमा नै सांसद श्रेष्ठलाई गरिएको कारबाहीको कारण पुष्टि हुने कागजात मागेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोलप्रसाद अर्यालले गत चैत ३० गते संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई सम्बोधन गरी सांसद श्रेष्ठलाई पार्टी सदस्यबाट कारबाही गरिएकाले उनको ठाउँमा अर्को सांसद चयन प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको थियो ।

पत्रमा भनिएको छ, ‘२०७९।१२।२९ गते बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानको धारा ५६ बमोजिम पार्टी सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. ढाकाकुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज (दलबाट निष्कासन) गर्ने निर्णय गरेको जानकारी गराइन्छ । सो निर्णयबमोजिम निजको सांसद पद रिक्त हुने भएकाले उक्त रिक्त पदमा कानुनबमोजिम पदपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनु हुन अनुरोध सहित राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम सादर सूचित गराउँदछौं ।’

रास्वपा संसदीय दलका नेता अर्यालले पठाएको उक्त पत्रकै आधारमा कारबाहीको कारण नखुल्ने, राजनीतिक दलसम्बन्धी ऐनको एवं संविधानमा व्यवस्था गरिएको सांसद पद रिक्तको व्यवस्था पूरा हुने किन नहुने भन्नेबारे संसद् सचिवालयले छलफल गरेको थियो । छलफलबाट रास्वपालाई थप कागजपत्र पठाउन भनिएको थियो । तर, रास्वपाले हालसम्म पनि थप कागजात नबुझाएको संसद् सचिवालयको भनाई छ । यो घटनाले चुनावका लागि मात्रै कार्वाहीको नाटक गरेको प्रष्ट भएको छ ।