काठमाडौं, बैशाख ७ । काठमाडौंको फोहोर विसर्जन हुँदै आएको क्षेत्रका नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र यसअघि भएका सहमति र सम्झौताहरुको कार्यान्वयन नभए फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।
फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिका र केन्द्र सरकारबीच विवाद चर्किरहेकै बेला ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै गत जेठमा सरोकारवालाहरुका बीचमा भएको सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने माग गर्नुभएको हो ।
बिज्ञप्तीमा फोहोरमैलाका कारण न्यून प्रभाव पार्ने गरी फोहोरबाट निस्किएको लिक्विडको व्यवस्थापन गर्नुपर्ने, प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्ने, वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिएको छ । विज्ञप्तिमा ती मागहरु १५ दिनभित्र पूरा नभए फोहोरको ढुवानी रोक्ने चेतावनी दिइएको छ ।
त्यस्तै, ककनी र धुनिवेशी नगरपालिकाका वडाहरुमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास तथा रोजगारीका योजनाहरु सन्चालन हुनुपर्ने माग छ । दुई स्थानीय तहका जनप्रतिनिधिको संयुक्त बैठकबाट जारी विज्ञप्तिमार्फत् उनीहरुले यसअघि प्रभावित क्षेत्रका बासिन्दाहरुले गरेको आन्दोलनका क्रममा पक्राउ गरी झुटा मुद्दा चलाइएको भन्दै त्यसबेला पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गर्नुपर्ने माग पनि गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्