जनता टाइम्स

७ बैशाख २०८०, बिहीबार १५:४७

वडाध्यक्षलाई राजीनामा दिन धरानका मेयर हर्क साम्पाङको आदेश (बिज्ञप्तिसहित)


धरान, जेठ ७ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई उर्फ हर्क साम्पाङले वडाध्यक्षहरुलाई राजीनामा दिन आदेश जारी गर्नुभएको छ । कर्तव्य पूरा नगरेको भन्दै बिज्ञप्ती नै जारी गरेर वडाध्यक्षहरूलाई राजीनामा दिन मेयर साम्पाङले चेतावनी दिनुभएको हो ।

मेयर साम्पाङले आज निर्देशनात्मक विज्ञप्ति जारी गर्दै वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू वहिष्कार गरेको भन्दै खेद जनाउनु भएको छ ।

‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन यो वाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु,’ मेयर साम्पाङको बिज्ञप्तीमा भनिएको छ, ‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’

मेयर साम्पाङले समन्वय र सहमतिविना आफूखुसी काम गरेको र बैठकमा कसैलाई आफ्ना कुरा राख्न नदिएको भन्दै एक महिनाभन्दा बढी समयदेखि वडाध्यक्षहरू आन्दोलित छन । स्वकीय सचिवले निर्देशनात्मक पत्र पठाएको भन्दै चैत पहिलो साता वडा अध्यक्षसहित २८ जना कार्यपालिका सदस्यले मेयरलाई माफी माग्न अल्टिमेटम दिएका थिए ।

सो कामको बिरोधमा केही वडाध्यक्षहरूले हातमा कालोपट्टी बाँधेर मेयरको विरोध गरेका थिए । सोही कामबाट आक्रोशित बन्नुभएका मेयर साम्पाङले आफू जस्तै जनताबाट निर्वाचित वडाध्यक्षहरुलाई राजीनामा दिन निर्देशन दिनुभएको हो ।