इन्दीप कोइराला/बारा । बारा–२ को उपनिर्वाचनमा उम्मेदवारहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव ५ दलीय गठबन्धबाट उम्मेदवार बनेपछि यहाँको प्रतिस्पर्धा रोचक बनेको हो ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले जसपा अध्यक्ष यादवलाई कडा टक्कर दिनुभएको छ भने जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आमजनता पार्टीका अरुण ज्ञावाली पनि प्रतिस्पर्धामा सँगै हुनुहुन्छ ।
जसपा अध्यक्ष यादव र जनमतका कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको यो क्षेत्रमा पौडेलले उम्मेदवारी दिएपछि चुनावी माहोल फेरिएको हो । ‘सुरुमा जसपा र जनमतबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको थियो, पचरौता नगरपालिका पिपरपातीका भरत साहले भन्नुभयो, अब जनमत फेरिएको छ र एमालेका पौडेल ह्वात्तै अगाडि आएका छन ।’
उहाँले यसपटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धा यादव र पौडेलबीच नै हुने बताउनु भयो । जसपा र नेपाली कांग्रेसको बलियो जनाधार रहेको यस क्षेत्रमा पौडेलले पनि पकड बढाउँदै लग्नुभएको छ । गत मंसिर ४ गते भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहायप्रसाद यादव (हाल उपराष्ट्रपति) विजयी बन्नुभएको थियो । यादवले एमालेको सहयोगमा माओवादीका कुशवाहालाई ३५४ मतले पराजित गर्नुभएको हो ।
चुनावताका दल परिवर्तन गरिहने चरित्रको कारण मतदातामा कुशवाहा विवादास्पद समेत बन्नुभएको छ । माओवादीबाट २०६४ को संविधान सभामा त्यसै क्षेत्रबाट जितेका कुशवाहा २०७० को चुनावमा पार्टीबाट टिकट नपाएपछि राजेन्द्र महतोको तत्कालीन सद्भावना पार्टीमा प्रवेश गरी उम्मेदवार बन्दा न्यून मत पाएर पराजित हुनुपरेको थियो । ०७४ सालमा नेकपाको तर्फबाट टिकट पाएपछि उहाँ फेरि माओवादीमा नै सक्रिय बन्नुभयो । उक्त निर्वाचनमा जसपाका रामसहाय यादवले चुनाव जित्दा कुशवाह तेस्रो नम्बरमा पुग्नुभएको थियो ।
यादव समुदायको बाहुल्य रहेको यस क्षेत्रमा जातीय समीकरणले विगतमा चुनाव जित्दै आएकाले त्यो समूदायको मत तान्न उम्मेदवारहरु कसरतमा छन् । जसपा अध्यक्ष उपेन्द्र यादव समुदायको अधिकांश मत आफ्नो पक्षमा पर्ने र चुनाव जित्नेमा आशावादी देखिनुहुन्छ तर आफू यादव समुदायको मात्रै भर परेर चुनाव नलडेको उहाँको भनाई छ । यसपटक अत्याधिक मतका साथ चुनाव जित्ने उहाँको दाबी छ । तर दाबी विपरित प्रचारको क्रममा उहाँले समुदायका अगुवा र सर्वसाधारणसंगको भेटघाटलाई तीव्र पार्दै आउनु भएको छ ।
त्यसैगरी उहाँलाई जिताउन सप्तरी, सिराह, मोरङ्ग, सुनसरी र धनुषा लगायतका जिल्लाबाट आएका दर्जनौं अगुवाहरु अहिले क्षेत्र नम्बर २ मा देखिन्छन् । जसले गर्दा अन्य समुदायका मतदाता जसपा अध्यक्ष यादवसँग टाढिने खतरा छ र गैह्यादव समुदायको मत पौडेलतर्फ जान सक्ने देखिन्छ । जसपा अध्यक्ष यादवले पनि आफ्नो निकटतम प्रतिस्पर्धिमा एमालेका पौडेल नै हुनसक्ने बताउनु भएको छ ।
०५१ सालमा क्षेत्र नम्बर बारा ३ बाट चुनाव जित्नुभएका पौडेल अहिले पनि यस क्षेत्रमा लोकप्रिय हुनुहुन्छ । ०४८, ०५१, ०५४ को संसदीय निर्वाचनमा ३ नम्बर ३ बाट चुनाव लड्दा साविकको पिप्राढी, बडकीफुलबरिया, दक्षिण झिटकैया र पिपरपाती जब्दी गाविस हाल क्षेत्र नम्बर २ को देवताल गाउँपालिका र ३ नम्बरमै रहेको साविकको मझरिया, हर्दिया र सनफुलवा गाविसहरु पनि अहिले २ नम्बर क्षेत्रमा परेका छन ।
३ वटै निर्वाचनमा लोकप्रिय मत पाए पनि पौडेल एकपटक मात्रै संसदमा निर्वाचित हुनुभएको थियो । संविधान सभाको निर्वाचनमा भने पौडेल क्षेत्र नम्बर ६ बाट विजयी बन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्