जनता टाइम्स

७ बैशाख २०८०, बिहीबार १७:१३

जाजरकोट–डोल्पा सडक खण्डको निर्माणाधीन बेलिब्रिज भाचिँदा दुई जनाको मृत्यु, आठ जना गम्भीर घाइते


जाजरकोट, बैशाख ७ । जाजरकोट–डोल्पा सडक खण्डको भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ र घटनामा ८ जना घाइते भएका छन् । जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका दुई जना श्रमिकको ज्यान गएको प्रहरीले जनाएको छ ।

नलगाढ नगरपालिका १२ मा पर्ने उक्त पुल भाँचिएपछि अहिले उद्धारकार्य जारी छ । उक्त समयमा पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् भने अन्य ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सख्त घाइते भएका ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईले बताए । घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपाचार भइरहेको छ । त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।