जनता टाइम्स

७ बैशाख २०८०, बिहीबार १७:५७

साढे २ करोडको कोकिनसहित भारतीय र केन्याली नागरिक पक्राउ


काठमाडौं, बैशाख ७ । अवैध लागुऔषध कोकिन कारोबारमा संलग्न एक केन्याली र एक भारतीय पक्राउ परेका छन्। ६३ वर्षीय केन्याली महिला पिलिसिला वान्जा डिरुतू र ५१ वर्षीय भारतीय रविन्द्रकुमार पराशरलाइ प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले केन्याली महिला पिलिसिलालाई ठमेलस्थित होटलबाट पक्राउ गरेको हो। उनले १ किलो ८० ग्राम परिमाणको कोकिन इथोपियाबाट कतारको दोहा हुँदै काठमाडौं ल्याएकी थिइन्। उक्त कोकिनको अवैध बजार मुल्य २ करोड ३३ लाख २८ हजार रुपैयाँ छ।

व्यूरोका अनुसार लेडिज व्यागभित्र ‘फल्स बटम’ बनाई ल्याइएको उक्त कोकिन भारतको दिल्ली लैजाने तयारी थियो। कोकिन लिन दिल्लीबाट भारत उत्तर प्रदेश अलिगढका ५१ वर्षीय रविन्द्रकुमार पराशर काठमाडौं आएका थिए। उनले कोकिन रविन्द्रकुमारलाई बुझाइसकेकी थिइन्। यही क्रममा प्रहरीले रविन्द्रकुमारलाई पनि पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले साढे २ करोड मूल्यबराबरको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेको बताउनु भयो। ‘अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ मध्ये एक केन्याली र अर्का भारतीय नागरिक छन्। उनीहरु उक्त कोकिन भारत लैजाने तयारीमा थिए,’ उहाँले भन्नुभयो ।

ब्यूरोका अनुसार केन्याली नागरिक पिलिसिलाको केन्यामा नातीनातिनासमेत छन् । उनी डिभोर्सी महिला हुन्। उनलाई ‘¥याकेट’का सदस्यले एयरफेयर टिकटसहित ३ हजार अमेरिकी डलर (३ लाख ३० हजार रुपैयाँ) दिने प्रलोभन दिएका थिए । सोही प्रलोभनमा परी उनी ‘¥याकेट’को सदस्य बनेको प्रहरीको भनाई छ।

जोशीका अनुसार ‘र्याकेटका सदस्यले ३ हजार अमेरिकी डलर दिने भनेपछि यिनी कारोबारमा संलग्न हुन राजी भएको जस्तो देखिन्छ। घटनामा थप अनुसन्धान भइरहेको छ। उनीसँगै पक्राउ परेका भारतीय नागरिक रविन्द्रकुमारलाई भने र्याकेटका सदस्यले २० हजार भारतीय रुपैयाँ दिने भनेका थिए। ड्राइभिङ पेशमा आवद्ध उनी प्रलोभनमा परी कोकिन लिन काठमाडौं आएका खुलेको छ।