जनता टाइम्स

९ बैशाख २०८०, शनिबार १५:२९

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार


विराटनगर, बैशाख ९ । पहिचानको आधारमा प्रदेशको पुनःनामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।

प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ ।