दाङ, बैशाख ११ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ । आज भएको प्रदेश सभा बैठकबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त हुनुभएको हो ।
प्रदेश सभामा आज भएको मतदानमा गिरीले प्रस्तुत गर्नुभएको विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ । आवश्यक बहुमत संख्या ४४ पुर्याउन नसक्दा लुम्बिनीमा गिरी नेतृत्वको सरकार ढलेको हो।
गिरीको पक्षमा नेकपा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्र मत दिएका छन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्री समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादी र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए।
पुस २७ गते लुम्बिनीको माओवादी केन्द्रसहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त अुनुभएका गिरीले फागुन ५ गते पहिलो पटक प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो ।
केन्द्रमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग गठबन्धन गरेपछि लुम्बिनी प्रदेशमा पनि त्यसको असर परेको हो। गत चैत १२ गते गिरी नेतृत्वको लुम्बिनी सरकारलाई साथ दिएका माओवादी केन्द्र सहित ६ दलले समर्थन फिर्ता लिएका थिए।













प्रतिक्रिया दिनुहोस्